नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफूले उद्योग र व्यवसायको आफ्नो ३० वर्षे करियरमा अहिले जस्तो आर्थिक संकट कहिल्यै अनुभव नगरेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको ‘नाडा ईभी एक्सपो २०२२’को उद्घाटनमा अध्यक्ष गोल्छाले यति गम्भीर प्रकृतिको आर्थिक चूनौती आफूले पहिलोपटक देखिरहेको र सम्भवतः देशले पनि पहिलोपटक भोगिरहेको बताएका हुन् ।
‘हामीले द्वन्द भोग्यौँ, भूकम्प भोग्यौँ, नाकाबन्दी भोग्यौँ, कोरोना पनि भोग्यौँ, तर मेरो जीवनकालमा मैले आजसम्म यत्ति गम्भीर प्रकृतिको चूनौती देखेको थिइँन’ अध्यक्ष गोल्छाले भने, ‘तर मलाई के विश्वास छ भने हाम्रो देशको अर्थतन्त्रको फण्डामेन्टल स्ट्रङ छ, यो संकट लामो समय जाँदैन ।’
उनले यो आर्थिक संकट टार्ने जिम्मेवारी सबैको भएकाले आर्थिक संकट समाधानको हिस्सेदार बन्न निजी क्षेत्र तयार रहेको पनि बताए ।
अध्यक्ष गोल्छाले कतिपय अर्थशास्त्रीहरुले रुस र युक्रेनबीचको युद्धका कारण अहिलको आर्थिक संकटको समस्या आएको भनेर विश्लेषण गरिरहेको र त्यो केहीहदसम्म ठिक पनि भएको बताएका छन् । तर, ती २ देशबीच चुलिएको तनावले केही ‘कमोडिटिज्’को मात्रै मूल्य बढेकाले सबै समस्याको ‘जड्’ त्यहीँ युद्धलाई मात्रै देखाउन नहुने घुमाउरो संकेत गरे ।
दशैँको समयमा पनि बस्तुको बिक्रि नभएकाले आर्थिक क्षेत्र चलायमान नहुँदा त्यसको असर सरकारको राजस्वमा देखिने गोल्छाको भनाई छ । उनले गाउँ गाउँमा पुगेका सहकारीहरु समस्यामा पर्दा तरलता संकट भएकाले यसबारे अनुसन्धान आवश्यक रहेको बताए ।