शेखर गोल्छाले देखेका अर्थतन्त्रको संकट टर्ने ५ संकेत

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 23, 2022 | 12:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली अर्थतन्त्र इतिहासमै कमजोर अवस्थामा पुगेको भएपनि यो सुधार गर्नुपर्ने दायित्व सबैको भएको बताएका छन् । आफूले उद्योग र व्यवसायको आफ्नो ३० वर्षे करियरमा अहिले जस्तो आर्थिक संकट कहिल्यै अनुभव नगरेको बताएका गोल्छाले आन्तरिक र बाह्य कारणले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् ।

तर, नेपालको अर्थतन्त्रको जग आफ्नै मौलिक खालको भएकाले अरु देशहरुको जस्तो भयावह अवस्था नआउने उनको दाबी छ । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको ‘फण्डामेन्टल स्ट्रङ’ भएकाले अहिलेको संकट लामो समय नरहने बताएका हुन् ,

संकट टर्ने ५ कारण

अध्यक्ष गोल्छाले अर्थतन्त्र समस्यामा परेको छ भनेर यसबाट उम्किने छुट कसैलाई नभएको भन्दै अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताएका छन् । समस्यामा हुँदाहुँदै पनि दुर्घटना टर्ने सूचकहरु देखिन थालिसकेको उनको भनाई छ ।

‘अर्थतन्त्र समस्यामा परेकै हो, तर हाम्रो फण्डामेन्टल स्ट्रङ भएकाले यो लामो समय जाँदैन, यसका केही संकेतहरु देखिएका छन्, मुख्यगरी ५ कारणले अर्थतन्त्र सुधार भइरहेको छ भन्ने संकेत गरेको छ’ अध्यक्ष गोल्छाले भने ।

१) रेमिट्यान्स

गोल्छाले रेमिट्यान्समा सुधार आइरहेकाले अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप क्रमशः कम हुँदै जाने बताएका छन् । 

‘रेमिट्यान्स नेपालको अर्थतन्त्रको एउटा जग भइसक्यो, हाम्रा दाजुभाई दिदीबहिनीले विदेशमा गएर कमाएको पैसा यहाँ पठाएरै हाम्रो अर्थतन्त्र चलायमान हुने गरेको सत्य हो’ गोल्छा भन्छन्, ‘अहिले रेमिट्यान्स बढ्न थालेको छ । साउनमा ९२ अर्ब रेमिटेयान्स भित्रिएको छ । अहिले आप्रवाह भइरहेको रेमिट्यान्स २० प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ ।’

भदौ र असोज चाडपर्वको सिजन भएकाले यो अवधिमा रेमिट्यान्स बढ्दा त्यसले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने गोल्छाको विश्वास छ ।

२) निर्यात

अध्यक्ष गोल्छाले परिणाम देखिने बस्तुहरुको निर्यात सुरु भएकाले यसले ब्यापार घाटा कम गर्न र समग्र अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने बताएका छन् । सिमेन्ट र बिजुलीको साँचो अर्थमा निर्यात सुरु भएकाले निजी क्षेत्रको भूमीका यहाँ देखिएको दाबी गरेका छन् । 

‘सरकारले निर्यातमा ८ प्रतिशत इन्सेन्टिभ दिएकाले सिमेन्टको साँच्चैको निर्यात भएको छ, यो नीति कायम रहे सिमेन्टको निर्यात अझै बढ्ने छ ।’

३) पर्यटन

कोरोना भाइरसका कारण शून्य प्रायः भएको पर्यटन विस्तारै पुनरोत्थान भइरहेकाले विदेशी मुद्राको आर्जन र सञ्चितीमा यसले महत्वपूर्ण योगदान दिने अध्यक्ष गोल्छाको भनाई छ । अब पर्यटकीय सिजन पनि सुरु भएकाले पर्यटकको आगमन बढ्ने देखिएको र यसले उत्साह थपेको गोल्छा बताउँछन् ।

४) दातृ निकायको सहयोग

विदेशी दातृ निकायहरुले नेपाललाई गर्ने अनुदान सहयोग बढाएकाले त्यो पनि अर्थतन्त्रका लागि शुभ संकेत भएको उनको दाबी छ । दातृ निकाय र सहयोग राष्ट्रहरुले नेपालको विभिन्न क्षेत्रमा आफ्नो सहयोग बढाउनु नेपालको अर्थतन्त्रका लागि शुभ अवसर भएको र त्यसलाई उपयोग गरेर दह्रो अर्थतन्त्र बनाउनुपर्ने गोल्छा बताउँछन् ।  

५) अनुदान परयोजना

विदेशी सहयोग र अनुदानमा नेपालमा विभिन्न परियोजनाहरु बनाउन सम्झौता भएको र कतिपय ठूला परियोजनाहरु निर्माण सम्पन्न भइ अपरेशनमा आएको र आउने तयारीमा रहेकाले यसले पनि अर्थतन्त्रमा योगदान गर्ने अध्यक्ष गोल्छाको बुझाई छ ।

यसअघिः
महासंघका अध्यक्ष गोल्छा भन्छन्, ‘३० वर्षे करियरमा यस्तो आर्थिक संकट कहिल्यै देखेको थिइँन’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved