
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकहरुको मर्जरको औचित्यबारे प्रश्न उठाएका छन् । काठमाडौं उद्योग वाणिज्य संघले आयोजना गरेको 'वित्तीय समस्या र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा उनले पहिले किन धमाधम लाईसेन्स बाडिएको र अहिले किन मर्ज गरेको भन्दै प्रश्न उठाएका हुन् ।
उपाध्यक्ष श्रेष्ठले भएका बैंकहरुलाई मर्ज गराएर बैंकिङ प्रणालीलाई संकुचित गराउन खोजेको बताए । उनले प्रश्न गर्दै भने ' बैंकहरु हिजो बढाएर आज धमाधम मर्ज किन गरिँदैछ ? भएका बैंकहरुलाई मर्ज गराएर बैंकिङ प्रणालीलाई संकुचित गराउन खोजिएको हो ? खुला बजार अर्थतन्त्रलाई अब अर्कै बाटो हिडाउन लागिएको पो हो की ? खुला बजार अर्थतन्त्रमा वाणिज्य बैंकको संख्या घटाएर एकाधिकार प्रकृतिको अर्थतन्त्र निर्माण गर्न लागिएको हो ?'
काठमाडौं उद्योग वाणिज्य संघले वाणिज्य बैंकहरुको मर्जर नीतिलाई पुनर्विचार गर्न पनि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । बैंकहरु मर्जमा जाँदा एकाधिकार प्रकृतिको बजार सृजना भएको भन्दै संघले यसबारे गम्भीर विश्लेषण हुनु जरुरि रहेको बताएको हो ।
संघले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाउदै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्तीमा जाँदा एकाधिकार प्रकृतिको बजार सृजना भएको उल्लेख गरिएको छ । मर्जका कारण वाणिज्य बैंकहरुको संख्या घट्न गई एकाधिकार प्रकृतिको बजार सृजना भई प्रतिस्पर्धी बजारमा जस्तो तुलानात्मक बढी लाभ लिन सक्ने असस्थामा कमि आएको तर्फ गम्भीर बिश्लेषण जरुरी रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
त्यस्तै नेपालका बैंकहरु संभाब्य परियोजनामा भन्दा प्रतिष्ठाका आधारमा व्यक्तिलाइ लगानी गर्ने, सिमित दायीत्वलाइ असिमित बनाउने, ब्यक्तिगत जमानी लिने, कालो सूचीको त्रासमा ऋणी माथी अन्याय गर्ने, पत्रीकामा नाम निकालेर ग्राहकको बेइज्जत गर्ने, डनहरु पठाएर पिडा दिने सम्मका कार्य भएकोले त्यस्ता कार्य बन्द गर्नको लागि गभर्नर समक्ष आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा व्याजदर बृद्धि नियन्त्रण गरिनुपर्ने, कर्जाको उचित ब्याजदर निर्धारण हुनु पर्ने, कर्जा सहज हुनु पर्ने, निक्षेप संकलन स्वस्थ हुनु पर्ने, लगायतका विषय समावेश छन् । संघका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरी प्रसाद भट्टराई मार्फत गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन् ।