बैंकविरुद्द सडक प्रदर्शनमा उत्रिएका महासंघका ३ उपाध्यक्ष के भन्छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 09:15:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको ब्याजदर बढिरहेको विरोधमा देशैभरका उद्योगी व्यवसायीहरु स्वतःस्फूर्त रुपमा आन्दोलन गरिरहेका छन् । झपादेखि दार्चुलासम्मका उद्योगी व्यवसायीहरु कुनै न कुनै रुपमा बैंकविरुद्द सडकमा उर्लिएका छन् । यो क्रम देशब्यापी बन्दै गइरहेको छ ।

शुक्रबार काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा माइतीघरमा काठमाडौँ र आसपासका उद्योगी व्यवसायीहरु विरोध प्रदर्शनमा निस्किए । बैंकले कर्जाको ब्याज अस्वभाविक रुपमा बढाउँदा उत्पादन लागत बढ्न गई महँगी निरन्तर बढिरहेको उद्योगी व्यवसायीहरुको आरोप छ ।

आन्दोलनमा निस्किएका उनीहरुले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने, बैंकहरुले कर्जा प्रवाहमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्नुपर्ने, बैंकहरुको खर्च कम गरी स्प्रेड दर ३ प्रतिशतमाथि जान दिन नहुने, बैंकहरुको सेवा शुल्क दोब्बर बढेकाले यसलाई घटाउनुपर्ने, प्रवाह भएको कर्जालाई चालु आर्थिक वर्षभरीका लागि पुनःतालिकीकरण गरिनुपर्ने माग गरेका छन् ।

ब्याजदरमा स्थिरता कायम गर्, मनपरी प्रिमियम बन्द गर् जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका उनीहरुले विश्व बैंकले आयातमा प्रतिबन्ध नलगाउन अनुरोध गर्दा पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकले कुनै चासो नदेखाएर अर्थतन्त्र ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।

दिनेश श्रेष्ठः उपाध्यक्ष (एफएनसीसीआई)

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले बेस रेटको तुलनामा प्रिमियम ह्वात्तै बढाउँदा देशमा औद्योगिक व्यवसायिक वातावरण बिग्रदै गएको बताएका छन् ।

आफूहरुले कुनै बैंकविरुद्द नभई ब्याजदर बढ्ने नीतिगत व्यवस्थाका विरुद्द प्रदर्शन गर्नु परेको उनको भनाई छ । देशैभरका कयौँ उद्योगी व्यवसायीहरु बढ्दो ब्याजदरका कारण पलायन भइसकेका र अझै पलायन हुने जोखिम बढिरहेको भन्दै उपाध्यक्ष श्रेष्ठले कसरी हुन्छ उद्योगी व्यवसायीहरुले धान्न सक्ने ब्याजदर कायम गर्न माग गरे ।

‘अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र आज सडकमा आउनुपर्ने अवस्था बन्यो, निजी क्षेत्र डुब्यो भने बैंकहरु बाँकी रहन्छन् ?’ उनले प्रश्न गर्दै भने, ‘यसकारण उद्योग व्यवसायमा बैंकहरुले आफ्नो आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमीयम जोडेर ब्याज लिन पाउने नीतिगत व्यवस्था होस् भनेर हामीले माग गरेका छौँ ।’

उनले उपभोक्ता ऐनमा लागतमा २० प्रतिशत बढी नाफा राख्न पाइँदैन भनेर स्पष्ट रुपमा भनेको तर, बैंकहरुले अस्वभाविक रुपमा चर्को ब्याज असुलिरहेको आरोप पनि लगाए । सँगै, बैंकिङ प्रणालीमा तलरता अभाव भएको र निक्षेपमा बढी ब्याज दिँदा बैकिङ प्रणालीमा पैसा आउँछ भनेर बैंकहरुले बढी ब्याज दिने गरी निक्षेप संकलन गरिरहेको भएपनि बढी ब्याज दिँदा पनि च्यानलमा पैसा नआएकाले अब ब्याज बढाउने खालको नीति खारेज गरेर जानुपर्ने उपाध्यक्ष श्रेष्ठको माग छ ।

अन्जन श्रेष्ठ (उपाध्यक्ष एफएनसीसीआई)

महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकहरुको बेस रेट थोरै थोरै बढेको भएपनि प्रिमीयम भने प्रतिशतमा बढिरहेकाले यो थेग्न नसकिने गुनासो गरेका छन् । ‘विगतमा आधार दरमै ऋण दिँदा हुने बैंकहरुलाई अहिले किन अस्वभाविक रुपमा प्रिमीयम लिनु परिरहेको छ ?’ भन्दै उनले प्रश्न पनि गरेका छन् ।

‘विगतमा बैंकहरुले आधार दरमै पनि कर्जा दिएका हुन्, समग्रमा हेर्दा पनि आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमीयम थपिएको थिएन’ उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘आज प्रिमीयम नै ४, प्रतिशत, ५ प्रतिशत, ६ प्रतिशतसम्म छ । त्यसकारण हामीले के भनेका छौँ भने, प्रिमीयमलाई राष्ट्र बैंकले कन्ट्रोल गर्नुपर्छ ।’

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कुनै कुनै क्षेत्रको जोखिम भार बढाएकाले जोखिम भार बढ्दा बढ्ने ब्याजलाई आफूहरुले गलत रुपमा नलिएको तर, हिजो ०.५ प्रतिशत प्रिमीयम लिँदा हुने शीर्षकको कर्जामा आज ५ प्रतिशत प्रिमीयम किन लिने भन्ने प्रश्न मात्रै आफूहरुले गरिरहेको र यो प्रश्नको चित्तबुझ्दो जवाफ नपाएको बताए ।

‘रिक्स प्राइसिङ हुन्छ, तर यो देशमा उद्यमशीलता, व्यवसाय, रोजगारी सिर्जना गर्ने कुरामा उद्योगी व्यवसायीहरुले मात्रै रिक्स लिइदिनुपर्ने ? बैंकहरुले कुनै रिक्स लिनै नपर्ने ?’ श्रेष्ठ प्रश्न गर्छन् ।

उनले दशैँ तिहार जस्ता चाडमा पनि गत वर्षहरुको तुलनामा आधा भन्दा बढीले ब्यापार घटेको अवस्थामा उद्योगी व्यवसायीहरु थला पर्ने जोखिम भएपछि आफूहरु बाध्य भएर सडकमा आउनुप परेको गुनासो पनि गरेका छन् । 

रामचन्द्र सांघाई (उपाध्यक्ष, एफएनसीसीआई)

महासंघका अर्का उपाध्यक्ष रामचन्द्र सांघाईले बैंकहरुको ब्याज बढेर उद्योग र व्यवसायको क्षेत्रमा तरङ्ग पैदा भएको बताएका छन् । राष्ट्र बैंकको नीति नै ब्याजदर बढाएर कर्जाको माग घटाउने खालको भएकाले यस्तो नीति औद्योगिक व्यवसायिक क्षेत्रका लागि र समग्र देशकै अर्थतन्त्रका लागि घातक हुने उनको भनाई छ ।

उपाध्यक्ष सांघाईले आफू पनि बैंकमा लगानी भएकै उद्योगी भएर पनि बैंकको ब्याज बढ्दा जहिल्यै आलोचना नै गरिरहेको बताएका छन् । बैंकको ब्याज बढ्दा उद्योगी व्यवसायीले कर्जा लिनै नसक्ने र यसले गर्दा उद्योग व्यवसाय नै धाराशायी हुने भएकाले ब्याज बढ्नु अत्यन्त गलत भएको उनको भनाई छ ।

‘बैंकको ब्याज बढ्दा एकातिर कर्जा लिन सकिँदैन, अर्कोतिर उत्पादन लागत बढ्छ, लागत बढेपनि माग हुँदैन, त्यसकारण उद्योग व्यवसाय त बन्द नै हुने खतरा छ’ उनले भने, ‘त्यसैले ब्याजदर नियन्त्रण गर्नु आवश्यक छ । मेरै कुरा गर्नुहुन्छ भने, मैले अहिलेसम्म जसोतसो उद्योग टिकाएको छु, यस्तै अवस्था रहे बन्द गर्नुपर्ने हुन्छ । उद्योग बन्द हुँदा १७÷१८ हजार परिवारको चुलो निभ्नेवाला छ । यसतर्फ राष्ट्र बैंकले सोचिदिनुपर्यो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved