आर्थिक मन्दीले छोएपछि उद्योगीले घटाए चुनावी अभियानको खर्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 01:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी माहोल मन्द गतिमा छ । विगतका वर्षमा चुनाव आउनुभन्दा कम्तिमा ६ महिना अगाडिबाटै चुनावी अभियान लिएर जिल्ला–जिल्लामा पुग्ने व्यवसायीहरु यसपाली त्यो अभ्यास गर्न सकेनन् ।

उद्योगधन्दाहरु कम क्षमतामा चलाउनुपर्ने, बजारमा माग नै नभएको, ब्याजदर बढी हुँदा उद्यम व्यवसाय नै चल्न नसकेकोलगायतका कारण बजारमा आर्थिक मन्दी देखिएकाले यसको असर उद्योगी व्यवसायीहरुको चुनावमा पनि परेको छ । 

त्यहीँ खर्च कटौतीको रणनीति अनुसार बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका दाबेदारहरुको चहलपहल ढिला गरी शुरु भएको हो । सरकारले खर्च कटौतीको रणनीति अख्तियार गरे झैँ व्यवसायीहरु पनि त्यसै गरी लागेका छन् ।

चुनावी अभियान नै कम

महासङ्घको ५४औँ वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ चैतमा हुनुपर्ने थियो । तर, कोरोना भाइरसको महामारीका कारण साधारणसभा समयमा हुन सकेन । २०७७ साल मंसिर ११–१३ गते मात्रै साधारणसभा हुन सक्यो । ५४औँ वार्षिक साधारणसभाबाट शेखर गोल्छा स्वतः अध्यक्ष बने भने चन्द्र ढकाल बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

कोरोनाकाल कायम रहँदा पनि महासङ्घको उक्त चुनावी अभियान निकै जोडतोडले चलेको थियो । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकालले भदौतिरबाटै अभियान देशव्यापी बनाएका थिए । दशैँको मुखमा र देशैँपछि आयोजना हुने मेला र महोत्सवमा पुग्ने क्रम उनीहरुले तीव्र बनाएका थिए ।

अहिले महासङ्घको ५७औँ वार्षिक साधारणसभा तथा निर्वाचनको मिति नजिकिए पनि उम्मेदवारहरुको चुनावी अभियान विगत वर्षहरुका तुलनामा नगन्य छ । कम्तीमा बरिष्ठ उपाध्यक्षका दाबेदार र जिल्ला नगर उपाध्यक्षका दाबेदार देशैभरी पुग्नुपर्ने हो तर, अहिले कुनै पनि उम्मेदवार सबै जिल्लामा पुगेका छैनन् ।

बढी घुमफिर गरेका अञ्जन श्रेष्ठले सोमबारसम्म आफूले ७२ जिल्लाको भ्रमण गरेको तथ्य सुनाएका छन् । जिल्ला नगर उपाध्यक्ष नै भएकाले दिनेश श्रेष्ठ बेलाबखत जिल्ला उद्योग वाणिज्य सङ्घहरुको अधिवेशनमा पुगेका छन् । उमेशलाल श्रेष्ठले आन्तरिक रुपमा केही जिल्लाको भ्रमण सकेका छन् । अर्का प्रत्याशी मानिएका रामचन्द्र साङ्घाईको जिल्ला दौडाहा खासै देखिएको छैन ।

‘पैसा नभएरै हो’

बरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेकाहरु नै जिल्ला जिल्लामा नपुग्नुले पनि महासङ्घको निर्वाचनमा आर्थिक मन्दीको असर परेको देख्न सकिन्छ । ठूलो पैसा खर्च गर्नुपर्ने भएकाले कतिपय बरिष्ठका दाबेदारहरु अन्तिममा उम्मेदवार नै नबन्ने अवस्था पनि आउन सक्ने अनुमान व्यवसायीहरुले गरेका छन् ।

अञ्जन श्रेष्ठको टिमबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवारका चित्रित अरुणराज सुमार्गीले देशमा आर्थिक मन्दीको असर रहेको र सबैभन्दा बढी मारमा जिल्ला,नगरका साना/मझौला उद्योगी/व्यवसायीहरु नै परेको बताउँछन् । साना÷मझौला व्यवसायीहरु समस्यामा पर्दा यसको प्रत्यक्ष असर ठूला भनिने व्यवसायीहरुलाई पनि परेको र उनीहरु पनि अहिले पैसा खर्च गर्ने मनस्थितिमा नदेखिएकाले महासङ्घको चुनावी अभियानको चहलपहल विगत वर्षहरुको तुलनामा कम देखिएको सुमार्गीको भनाइ छ ।

त्यसो त, प्रदेश उद्योग वाणिज्य महासङ्घको चुनाव पनि धेरै ठाउँमा सकिएको छ । ती चुनावहरुमा पनि भड्किलो खर्च गराइ देखिएन । महासङ्घमा मनोनयन दर्ता र अन्य प्रक्रियागत खर्चबाहेक भित्री रुपमा हुने खर्च यसपाली निकै घट्ने अनुमान गरिएको छ ।

महासङ्घको बरिष्ठ उपाध्यक्षका लागि ५ लाख, तीन उपाध्यक्षका लागि ३/३ लाख र केन्द्रीय कार्यकारिणी सदस्यका लागि ७५ रुपैयाँ मनोनयन शुःल्क तोकिएको छ । तर व्यवसायीहरुले अनौपचारिक रुपमा करोडौँ खर्च गर्ने गर्छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved