महासंघको निर्वाचनमा मतदाता कति छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 01:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको माहोल तातेसँगै मतदाता के कति छन् भन्ने जिज्ञासा पनि सुरु भएको छ । फागुन २८ गतेबाट महासंघले ५७औँ वार्षिक साधारणसभा र निर्वाचन प्रयोजनका लागि सूचना जारी गर्ने लगायतका प्रक्रिया सुरु गरिसकेको छ । उम्मेदवारी दाबी गरिरहेकाहरुले प्यानल बनाउन थालेपछि मतदाता के कति छन् भन्ने जिज्ञासा झन बढी सुनिन थालेको छ ।

यसपाली महासंघको निर्वाचनमा मतदान अधिकार प्राप्त मतदाताको संख्या जिल्ला नगर, बस्तुगत र एसोसियट (द्वि–राष्ट्रिय संघसमेत) गरी कुल २ हजार ३ रहने देखिएको छ ।

यसमध्ये सबैभन्दा बढी मतभार (५० प्रतिशत) रहेको जिल्ला नगर उद्योग वाणिज्य संघहरुको संख्या ११८ छ । यी ११८ जिल्ला नगर उद्योग वाणिज्य संघहरुले बरिष्ठ उपाध्यक्ष र जिल्ला नगर उपाध्यक्षसहित जिल्ला नगरबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवार बनेकाहरुलाई मतदान गर्न पाउने छन् ।

त्यस्तै, ३० प्रतिशत मतभार रहेको एसोसियटतर्फ मतदान अधिकार भएका एसोसियट सदस्यहरु (द्वि राष्ट्रिय संघहरुसमेत) गरी १ हजार ७६२ मतदाता रहने छन् । यसमध्ये एसोसियट सदस्यहरु १ हजार ७५० र द्वि राष्ट्रिय संघहरु १२ छन् । यी मतदाताले बरिष्ठ उपाध्यक्ष र एसोसियट उपाध्यक्षसहित एसोसियट तर्फका केन्द्रीय सदस्यका उम्मेदवारहरुलाई मतदान गर्न पाउने छन् । यद्यपी, अहिले नवीकरण लगायतका काम जारी रहेकाले एसोसियट सदस्यहरुको संख्या भने केही तलमाथि हुन सक्ने महासंघ सचिवालय स्रोतले बताएको छ ।

त्यस्तै, २० प्रतिशत मतभार रहेको बस्तुगततर्फ भने १२३ बस्तुगत संघ सदस्यहरुले मतदान गर्नेछन् । उनीहरुले पनि बरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई मतदान गर्न पाउने छन् । सँगै, बस्तुगत उपाध्यक्ष र बस्तुगत तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवारहरुलाई पनि भोट गर्नेछन् ।

महासंघको विधानको दफा ३४.३ (क)मा मतभार सम्बन्धि व्यवस्था छ । यसअनुसार जिल्ला नगर उद्योग वाणिज्य संघहरुको मतभार ५० प्रतिशत,  एसोसियट सदस्यहरु (द्वि राष्ट्रिय संघहरुसमेत)को मतभार ३० प्रतिशत र बस्तुगत संघहरुको मतभार २० प्रतिशत रहने छ ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ । बढी मतभार रहेका कारण जिल्ला नगरको मत तान्न बरिष्ठका दाबेदारहरुले कसरत गरिरहेका छन् । तर, पहिलो चरणकै निर्वाचनमार्फत बरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा निर्वाचन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved