आन्दोलनका नाममा व्यवसायीबीच प्रतिष्ठाको लडाईं !

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2023 | 01:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गएको मङ्गलबार ‘बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति’ले बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंक विरुद्धको आन्दोलन स्थगित गरे । 

सङ्घर्ष समितिको नेतृत्व गरिरहेका मोरङ ब्यापार सङ्घका अध्यक्ष नवीन रिजालसहितका उद्योगी व्यवसायीहरुले मङ्गलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि आन्दोलन स्थगित गरेका थिए । ‘आन्दोलनको सेफ ल्याण्डिङ’ खोजिरहेका उनीहरुलाई प्रधानमन्त्रीले भेट दिएपछि बहाना मिलेको थियो ।

बुधबार अर्को आन्दोलनरत सङ्गठन ‘राष्ट्रिय व्यवसायी महासङ्घ’ले भने आन्दोलन स्थगित नभएको दाबी गर्दै विज्ञप्ति जारी गर्यो ।  उसले बनाएको ‘बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल सङ्घर्ष समिति’ले विज्ञप्ति नै जारी गरेर आन्दोलन कायम रहेको जनायो । आठ वटा महासङ्घ र ३३ वटा सङ्घ गरी ४१ वटा संस्थाको नाम उल्लेखित व्यानरमा आफूहरुको आन्दोलन जारी रहेको घोषणा गरिएको छ ।

यसबाट उद्योगी व्यवसायीहरुबीच ध्रुबीकरण भएको देख्न सकिन्छ । तर, नवीन रिजाल नेतृत्वको सङ्घर्ष समितिले गरेका आन्दोनल र प्रदर्शनमा कटुवाल आफैँ पनि सहभागी भएका थिए भने कटुवाल नेतृत्वको सङ्घर्ष समितिले गरेका आन्दोलनमा रिजाल र उनको टिम सहभागी भएको थिएन ।

‘प्रधानमन्त्रीसँग उभिएर फोटो खिचाउन मात्रै आएका रहेछन्’

आन्दोलन स्थगित गरेर फर्किएका नवीन रिजालको समुहलाई राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका संयुक्त मूल सङ्घर्ष समितिका संयोजक कटुवालले उनीहरुले प्रधानमन्त्रीसँग उभिएर फोटो खिचेकै भरमा व्यवसायीहरुले गरेको विश्वासमाथि घात गरेको टिप्पणी गरेका छन् । 

काठमाडौँका माइतीघर र बालुवाटार नजिक २ दिन उभिँदैमा उद्योगी व्यवसायीहरुका माग सम्बोधन नहुने भन्दै कटुवालले उधारो आश्वासनमा मन्त्रमुग्ध भएर फर्किनुले उनीहरुको नियतमाथि नै शङ्का उत्पन्न भएको आरोप पनि लगाए ।

‘उहाँहरुको आन्दोलनमा हामीले ऐक्यबद्धता मात्रै जनाएका थियौँ, तर उहाँहरुले कसको दबाबमा परेर हो आन्दोलन तुहाउनु भयो’, कटुवालले भने, ‘ब्याजदर घटेर एकल अङ्कमा हुनुपर्छ, चालू पूँजी कर्जा निर्देशिका खारेज हुनुपर्छ भन्नुहुन्थ्यो, यी मागहरु पूरा भएरै त आन्दोलन फिर्ता लिएर जानुभएको होला ।’

आफूहरुले माघ १६ गते र फागनु ५ गते बृहत् प्रदर्शन गरेको र साना मझौला उद्योगी व्यवसायीहरुको पीडा र मर्का नै कसैले बुझ्न नसकेकाले अब निर्णायक आन्दोलनको तयारीमा रहेको पनि कटुवालले बताए । उनले चाँडै काठमाडौँ उपत्यका भरी नै सटर डाउन र यातायात ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

‘प्रधानमन्त्रीले उनीहरुलाई मात्रै भेट दिए, हामीलाई दिएनन् भनेर प्रतिष्ठाको विषय बनाउनु भएको त होइन ?’ भन्ने बिजपाटीको प्रश्नमा कटुवालले दिनको १२/१४ घण्टा खट्ने साना मझौला व्यवसायीका मुद्दाहरु उठाउने काम आफूहरुले गरिरहेकाले यसलाई प्रतिष्ठाको लडाईंका रुपमा नलिन अनुरोध गरे ।

‘वास्तविक रुपमा पीडामा परेका साना मझौला व्यवसायीका समस्या सम्बोधन हुनुपर्ने मागसहित हामी आन्दोलनमा छौँ, आन्दोलन जारी छ’ उनले भने, ‘यो कुनै प्रतिष्ठाको लडार्इं होइन, व्यवसायिक हकहितका मुद्दाहरु स्थापित गराउने अभियान हो । हामी एक्लै छैनौँ, हामीसँग ८ वटा महासङ्घ र ३३ वटा सङ्घहरु छन् ।’

‘प्रधानमन्त्रीको आश्वासनलाई विश्वास गरेका हौँ, केही दिन हेर्छौँ’

प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर फर्किएका उद्योगी व्यवसायीहरुले भने आफूहरुले अब कहिल्यै आन्दोलन नगर्ने भनेर स्थायी रुपमै आन्दोलन स्थगित नगरेको दाबी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको आश्वासनलाई विश्वास गरेर केही दिन हेरौँ भनेर मात्रै आन्दोलनका कार्यक्रम स्थगित गरिएको उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।

अहिलेको समस्यालाई सरकारले गम्भिरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठको भनाइ छ । आन्दोलन फिर्ता लिएको सङ्घर्ष समितिका संयोजक रिजालले भने आन्दोलन फिर्तापछि प्रतिक्रिया दिएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved