'महासङ्घमा जानुमा मेरो कुनै व्यक्तिगत ‘इन्ट्रेष्ट’ छैन' (अन्तर्वार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2023 | 04:28:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट वस्तु निर्यात गर्ने सिमित उद्योगीहरुमध्ये पर्छन् रामचन्द्र सांघाई । उनले नेपालबाट धागो, चिया, वनस्पति तेल र दालसमेत निकासी गर्छन् ।

नेपालको सबैभन्दा ठूलो मध्येको एनआईसी एसिया बैंकका सञ्चालकसमेत रहेका सांघाईले त्रिवेणी समूहअन्तर्गत आफूहरुले १८ हजार बढीलाई रोजगारी दिएको बताएका छन् । धागो उद्योग, चिया उद्योग, दाल उद्योग, खाने तेलको उद्योग, सिमेन्ट उद्योग र दाना उद्योगदेखि अक्सिजन प्लान्टसम्म त्रिवेणी ग्रुपले सफलतापूर्वक चलाइरहेको छ ।

बैंक, इन्स्योरेन्समा ‘मेजर सेयर’सहित उत्पादन बिक्री गर्ने केन्द्रका रुपम बिगमार्ट र सिटी सेन्टरसमेत चलाइरहेको त्रिवेणी समूहले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत हाराहारीमा योगदान दिएको सांघाईको दाबी छ ।

उनै सांघाई अहिले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने अन्तिम तयारीमा छन् । उम्मेदवारीको तयारी, चुनावी रणनीति र जित्ने आधारमा केन्द्रित रहेर उनीसँग हामीले कुराकानी गरेका छौँ, प्रस्तुत छ कुराकानीको सम्पादित अंशः-

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी किन ?

म अहिले महासंघमा उपाध्यक्ष छु । हामी पदाधिकारीहरु मिलेर हामीले ‘भिजन–२०३०’ बनाएका छौँ । सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुने, वैदेशिक व्यापारको स्थिति कस्तो हुने, कतिलाई रोजगारी दिनेलगायतका विषय यो भिजन पेपरमा उल्लेख छ । 

यो भिजन २०३० को मर्म भनेकै आर्थिक समृद्धि हो । हामीले आर्थिक क्षेत्रका विज्ञ र उद्योग व्यवसाय क्षेत्रमा भिजेका व्यक्तिहरुसँग छलफल र परामर्श गरेर बनाएको भिजन २०३० को मर्म र भावना उद्योगधन्दाको विकास र रोजगारी सिर्जना नै हो ।

त्यसैले यो भिजन पेपरमा उल्लेख गरिएका हाम्रा लक्ष्यहरु पूरा गर्ने र ती लक्ष्यहरुलाई सार्थक तुल्याउने उद्देश्यले मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।

महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएपछि टिम पनि त बनाउनु भएको होला नी ?

मेरो टिम तयार भइसकेको छ । जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य हुनुहुन्छ । उहाँ जिल्लामा धेरै भिजेको, हरेक जिल्लामा घुमेर व्यवसायीका समस्या बुझेको व्यक्ति हुनुहुन्छ । उहाँ सालिन र अनुशासित व्यक्ति पनि हुनुहुन्छ । रियलस्टेटमा पनि सक्रिय हुनाले उहाँले त्यो क्षेत्रको पनि प्रतिनिधित्व गर्नुहुन्छ ।

वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन हुनुहन्छ । उहाँ अहिले महासंघको कोषाध्यक्ष पनि हुनुहुन्छ । महासंघमा लामो समयदेखि उहाँ क्रियाशील हुनुहुन्छ ।

एसोसियट उपाध्यक्षमा मेरो टिमबाट सन्दीप अग्रवाल हुनुहन्छ । उहाँ उत्पादनमूलक उद्योगमा लागेर ५/६ हजार जनालाई रोजगारी दिने उद्योगी पनि हो । उहाँले पनि महासंघका मुद्दाहरु नजिकबाट नियाल्नु भएको छ । सदस्यहरु पनि टुंगो लाग्ने क्रममै छ । सदस्यहरुसहित प्यानल बनाउने हो ।

साना मझौला व्यवसायीहरुको बाहुल्यता जिल्ला नगरमा छ । तपाइँ देशका विभिन्न ठाउँमा पुग्दा जिल्ला जिल्लाका उद्योगी व्यवसायीहरुको चाहना के पाउनु भयो ? जिल्ला नगरको मत तपाईले पाउने आधार देख्नुहुन्छ ?

मैले धेरै जिल्ला अध्यक्षहरुसँग भेट गरेको छु, पदाधिकारीहरुसँग छलफल र कुराकानी गरेको छु । मैले उहाँहरुसँग कुराकानी गर्दा अहिलेको जल्दोबल्दो समस्या बैंकको ब्याजदर नै हो भन्ने आएको छ । ब्याजदर क्रमशः घट्दै जानुपर्छ भनेर महासंघको पूरै टिम लागेको लाग्यै छ । म आफैँ पनि अध्यक्ष (शेखर गोल्छा)सँग तीन चार पटक गर्भनरलाई यहीँ विषयमा भेट्न र कुरा राख्न गइसकेको छु ।

केही दिन अगाडि मात्रै प्रधानमन्त्रीसँग पनि कुराकानी भएको छ, उहाँले यसबारे निराश नहुन आश्वासन नै दिनु भएको छ । एक दुइ महिना अझै लागेपनि ब्याजदर विस्तारै घट्दै जान्छ भन्ने नै हाम्रो विश्वास छ ।

अर्को कुरा, साना मझौला उद्योग व्यवसायीको प्रतिनिधि म पनि हुँ । मेरा साना मझौला उद्योगहरु धेरै छन् । भन्नुको अर्थ साना, मझौला उद्योगी व्यवसायीहरुको समस्या के हुन् भन्ने मैले राम्रोसँग बुझेको छु । उहाँहरुको समस्या मेरो पनि समस्या हो । त्यसैले साना मझौला व्यवसायीहरुको पनि म प्रति सद्भाव छ, समर्थन छ, सहयोग छ ।

महासंघको नेतृत्वमा पुग्न पूर्व अध्यक्षहरुको चाहनामा भर पर्छ, उहाँहरुले चाहेको मान्छे मात्रै पुग्न सक्छ पनि भनिन्छ, यसमा सत्यता छ की छैन ?

पूर्व अध्यक्षहरु भनेको महासंघका अभिभावकहरु हुन् । एउटा संस्थामा अभिभावकहरुको सल्लाह, सुझाव र मार्ग दर्शन सधैँ चाहिन्छ नै । यसकारण उहाँहरुले जति बढी समय दिन सक्नुहुन्छ, त्यति बढी महासंघलाई फाइदा नै हुन्छ ।

तर, उहाँहरुको अस्वभाविक र धेरै ‘इन्भल्बमेन्ट’ हुन्छ भन्ने होइन । हामीहरु नै पूर्व अध्यक्षहरुलाई आएर सहयोग गरिदिनुपर्यो भनेर बोलाइरहेका हुन्छौँ । यसकारण उहाँहरुको इन्भल्बमेन्ट हाम्रो चाहना अनुुसार नै हुने हो । नेतृत्वमा कसलाई ल्याउने नल्याउने भन्नेमा उहाँहरुले हस्तक्षेप गर्नुहुन्छ भन्ने हल्लामा सत्यता छैन ।

महासंघको नेतृत्वमा पुगेपछि अध्यक्ष वा पदाधिकारीहरु व्यक्तिगत लाभमा केन्द्रित हुन्छन् भन्ने आरोप पनि लाग्छ । यसबारे तपाईको टिप्पणि के छ ?

महासंघमा पुगेपछि महासंघमै केन्द्रित हुनुपर्छ । मेरा लागि कुनै लाभ चाहिँदैन । म अहिले पनि १८ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको व्यक्ति हुँ । म उत्पादन मूलकदेखि सेवामूलक र सानादेखि ठूला सबै खालका उद्योगमा संलग्न छु । यसकारण मेरो हकमा व्यक्तिगत लाभमा केन्द्रित हुनुपर्ने अवस्था छैन ।

मेरो दिमागमा व्यक्तिगत लाभ लिने कुनै कुरै आउँदैन । म २० वर्षदेखि महासंघमा क्रियाशील छु, आजसम्म एउटा पनि व्यक्तिगत लाभ मैले लिएको छैन । रविभक्त श्रेष्ठको पालादेखि म महासंघमा छु । मैले पदलाई पनि प्राथमिकतामा राखिनँ । गत चुनावमा चन्द्र ढकालज्यूको आग्रह र प्रेरणाले म एसोसियट उपाध्यक्षमा निर्वाचित हुन सफल भएको हुँ । 

यसपाली चन्द्र ढकाल अध्यक्ष बन्दै हुनुहुन्छ । यसअघि उहाँको टिमबाटै उपाध्यक्षमा निर्वाचित हुनु भएकाले यसपाली पनि सल्लाह त भएको होला, उहाँको समर्थन पाउनुहुन्छ त ?

मलाई अघिल्लो पटक उपाध्यक्षमा उठ्न चन्द्र ढकालले नै प्रेरित गर्नुभएको हो । म आज जुन उपाध्यक्ष पदमा छु, यसमा निर्वाचित हुन पनि उहाँको प्रेरणाको ठूलो योगदान छ । म उपाध्यक्षमा निर्वाचित भएदेखि नै मैले बरिष्ठ उपाध्यक्षमा उहाँलाई सघाएको छु, उहाँको सारथी नै भएर हिडेको छु । कुनै पनि विषयमा कुनै दिन मत–मतान्तर पनि भएको छैन ।

यसकारण मेरो विश्वास के छ भने, आउने चुनावमा पनि मलाई चन्द्र ढकाल ज्यूको समर्थन हुन्छ । यसमा म ढुक्क छु ।

चुनाव जित्नुभयो भने के गर्नुहुन्छ ?

म निर्वाचित भएपछि मैले उद्योगी व्यवसायीहरुकै हितमा निजी क्षेत्रको तर्फबाट काम गर्ने हो । उद्योगी व्यवसायीहरुका समस्या के छन्, तीनको समाधानका लागि पहल गर्ने हो । मेरो कुनै व्यक्तिगत ‘इन्ट्रेष्ट’ छैन । म व्यक्तिगत फाइदाका लागि महासंघमा जान चाहेको पनि होइन ।

यसकारण उद्योगी व्यवसायीका सबै काम गर्ने मेरो प्रतिज्ञा छ । मलाई देशैभरका साथीहरुले मतदान गरेर विजयी गराउनु हुनेछ भन्ने विश्वास पनि छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved