
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिएसँगै साना,मझौला एवम् विशेषगरी जिल्ला नगर र वस्तुगत उद्योग वाणिज्य संघहरुले ‘कम्तीमा फोन उठाउने’ उम्मेदवार खोजेका छन् ।
आफूहरुका समस्यामा ‘इजी एभाइलेबल’ हुने र कम्तीमा फोन उठाएर समस्या सुनिदिने व्यक्तिलाई नेतृत्वमा देख्न चाहेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरु बताउँछन् ।
बिजपाटी डटकमले पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरु र वस्तुगत संघका प्रतिनिधिहरुसँग कुराकानी गर्दा ‘कर्पोरेट हाउस’बाट नेतृत्वमा पुग्नेहरुले आफूहरुका समस्या नसुन्ने गुनासो धेरै आएको छ । उनीहरुले यसपालीको निर्वाचनमा फोन उठाएर आफ्ना कुरा सुनिदिने खालको व्यक्ति छनोट गर्ने प्रतिक्रिया दिएका छन् ।
जिल्ला उद्योग वाणिज्य संघहरुका मात्रै गफगाफ हुने फेसबुक ‘च्याट ग्रुप’मा पनि विभिन्न जिल्लाका अध्यक्षहरुले जिल्ला नगरको आवाज बोल्ने र कम्तीमा जुनसुकै बेला आफ्ना फोन उठाएर समस्या सुनिदिने व्यक्ति नै आफूहरुको रोजाइमा पर्ने बताउँछन् ।
‘कर्पोरेट हाउसवालाहरु चुनावको बेलामा मात्रै सम्पर्कमा आउँछन्, अघिपछि फोन उठाउँदैनन्’, एक जना जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्, ‘बिजनेश ग्रुपका मालिकहरुले हाम्रा कुरा सुन्दैनन् ।’
ब्याजदर विरोधी आन्दोलनका क्रममा काठमाडौँमा भेटिएका सबैजसो जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरुले कर्पोरेट हाउसबाट महासंघको पदाधिकारी र नेतृत्वमा पुग्नेहरुले चुनावका बेलाबाहेक अरु समयमा साना, मझौला व्यवसायीहरुको कुरा नसुनेको आरोप मात्रै लगाएनन्, महासंघले स्पष्ट नेतृत्व गर्न नसक्दा आफूहरु आन्दोलन गर्न बाध्य हुनुपरेको आक्रोश नै पोखे ।
‘महासंघले स्पष्ट नेतृत्व दिन सकेको हुन्थ्यो भने आज व्यवसायीहरु आत्महत्या गर्नुपर्ने बाध्यतामा पुग्दैनथे, महासंघले साना मझौला व्यवसायीका माग सम्बोधन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेन, उहाँहरुलाई हाम्रो फोन जाँदा झर्को लाग्छ’ एक जना व्यवसायीले भने ।
ठूलो वस्तुगत संघमध्येको एउटा संघका अध्यक्षले त एकदिन काठमाडौँका तारे होटलमा राखेर भात खुवाएकै भरमा चुनाव जित्छु भन्ने नसोच्न चेतावनी नै दिए ।
‘एक दिन होटलमा राखेर भात खुवाएकै भरमा हामी कसैलाई पनि भोट हालेर मुर्खता गर्दैनौँ’ ती व्यवसायीले भने, ‘सरकारसँग टेबलमा बस्दा व्यवसायीका मुद्दा स्पष्टसँग राख्ने हुनुपर्यो ।’