
नेपाल उद्योग परिसंघ(सीएनआई) ले गरेको एउटा सर्वेक्षणमा गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको देखिएको छ।
सीएनआईले हालै सार्वजनिक गरेको सवेक्षण अनुसार औद्योगिक क्षेत्रमा निराशाजनक स्थिति छ । परिसंघले हरेक त्रैमासमा यस्तो सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने गर्दछ । उक्त सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट थियो । तर गत आवको समीक्षा अवधिमा भने उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको छ ।
समीक्षा अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको बताएका छन् । योभन्दा अघिल्लो त्रैमासमा पनि उद्योगीहरुको आयमा १.८७ प्रतिशतले ह्रास आएको बताएका थिए ।
माग र राजस्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कुल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत बताएका थिए । उद्योगीहरुले नियमित विद्युत् आपूर्ति नहुँदा अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्नु परिरहेको समेत बताएका छन् । सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगीहरुको धारणा अझै पनि जेनेरेटरको प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले गर्दा उत्पादन लागतमा १२.८९ प्रतिशतले वृद्धि भएको पनि उनीहरुको भनाइ छ ।
सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालू पूँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको बताएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ छ ।