अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ओरालो यात्रातर्फ धकेलिएको अर्थतन्त्रलाई सकारात्मक ल्याउन कोसिस भइरहेको बताए । साथै उनले आफूले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका नै बनाएको भन्दै यसबाट समाधानका उपाय खोज्न पनि मद्दत पुगेको बताए ।
‘अहिलेको सरकारभन्दा गतिलो सरकार यो सांसदले बनाउँन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ,यो सरकार २०८४ को चुनावसम्म जान्छ’, उनले भने–‘सरकारको स्थिरतासँगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान गएको छ ।’
उनले निराशाबाट आशाबादी र क्रमश : अनुकुलतामा बदल्ने प्रयास भइरहेको पनि बताए । नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् ।
उनले २०४६ यता मुलुकले पाँच वर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दाबी गरे ।