नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ ।
भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका शहर, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।
काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु गर्ने जानकारी दिइयो । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा समेत सहमति भएको छ ।
जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए। प्राकृतिक प्रकोपबाट नागरिकले कष्ट पाइरहेका अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए।
चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङकको अभावमा पनि उद्धार राहत तथा पुर्नस्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए। जापानी निकायसँगको प्राविधिक सहकार्यमा बास्तविक लगत संकलन गर्न सकिने उनले बताए। अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा इकुटा एसुकेले विपद् व्यवस्थापन सम्वन्धी सम्पुर्ण कार्यक्रममा बढीभन्दा बढी जनसभागिता हुनुपर्नेमा जोड दिए।