काठमाडौंको चन्द्रागिरीमा सम्पन्न नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकले दुई देशबीच व्यापार र लगानी सहजीकरणमा केन्द्रित महत्त्वपूर्ण सहमति गरेको छ। बैठकमा नेपाल र भारतका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–भारत आर्थिक सम्बन्धका अवसरलाई अधिकतम उपयोग गर्न नीतिगत सुधार र व्यवहारिक समाधान खोज्नुपर्ने बताए। उनले नेपाली वस्तु निर्यातमा देखिएका प्रमाणीकरण समस्याको समाधान, भारतीय शहरहरूसँग पोखरा र भैरहवा विमानस्थलको जोड, तथा विस्फोटक पदार्थ आपूर्तिलाई सहज बनाउनुपर्ने आवश्यकता औंल्याए।
बैठकमा दुवै पक्षले जलविद्युत, नवीकरणीय ऊर्जा, सौर्य र वायु परियोजना प्रवर्द्धन, पर्यटन तथा कनेक्टिभिटी सुधार, सीमापार व्यापार र लगानी सहजीकरणका विषयमा छलफल गरे। साथै, औषधीय वनस्पति र कृषि उत्पादनमा प्रविधि हस्तान्तरण, स्टार्टअप र डिजिटल प्रविधिमा सहकार्यका लागि सहमति गरिएको छ।
बैठकमा भएका सहमतिहरू नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरियो। उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले सहमतिको कार्यान्वयनमा जोड दिनुभयो। भारतीय वाणिज्य सचिव सुनिल बर्थवालले सहमतिको कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता जनाए।
बैठकको अन्त्यमा दुवै देशका प्रतिनिधिहरूले भारतको नयाँ दिल्लीमा अर्को बैठक आयोजना गर्ने सहमति जनाएका छन्।