नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ । यो मेला नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण हुनेछ ।
महासंघका अनुसार यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट व्यापारिक सहभागिता रहनेछ । कुल ३०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाहरूको प्रदर्शनी गरिनेछ ।
नेपाल सरकार (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय), व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा यो मेला क्यालेन्डर इभेन्टको रूपमा आयोजना हुन लागेको हो ।
मेला अवधिभर मेड इन नेपाल पेभेलियन, वस्तुगत संघहरूको पेभेलियन, हस्तकला, कृषि उत्पादन, उर्जा, पर्यटन सूचना, व्यवसायिक सूचना, भवन तथा निर्माणसम्बन्धी सामग्री, सूचना प्रविधि, शिक्षा लगायतका छुट्टाछुट्टै स्टलहरू रहनेछन् ।
मुख्य आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादनहरू तथा दुई पांग्रे र चार पांग्रे विद्युतीय गाडी रहने छन् । साथै, अन्तराष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको महासंघले जनाएको छ ।
सार्क राष्ट्रहरूसहित चीन, कोरिया, जापानका क्रेताहरूलाई मेलामा आमन्त्रण गरिने छ । मेलामा स्वदेशी तथा विदेशी गरी करिब २० हजार अवलोकनकर्ताको सहभागिता हुने अपेक्षा गरिएको छ ।
महासंघले अघिल्ला वर्षहरूजस्तै प्रादेशिक, जिल्ला तथा वस्तुगत मेलाहरूको उत्कृष्ट स्टल र उत्पादनलाई नेपाल अन्तराष्ट्रिय व्यापार मेला मा निःशुल्क स्थान उपलब्ध गराउने बताएको छ ।
जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकका लागि निःशुल्क प्रवेश र विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै, मेलाका लागि २०८१ चैत ११ गतेदेखि स्टल बुकिङ खुला गरिएको महासंघले जानकारी दिएको छ ।