
नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सहकार्यका लागि सम्झौता भएको छ। सम्झौता अनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्रको पहिचान, विश्लेषण तथा परामर्श सेवा प्रदान गरिनेछ। निजी क्षेत्रबाट यसखाले पहल पहिलो पटक भएको हो।
नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभाका अवसरमा शुक्रबार काठमाडौंस्थित होटल हिल्टनमा उक्त सम्झौता भएको हो। कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्य र संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा सम्पन्न भएको थियो।
सम्झौतासँगै नेपालले कृषि बजार मूल्य संकलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषण सेवा पाउनेछ। यसले कृषक तथा व्यापारीलाई सहजीकरण गर्दै निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, कृषि उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बीउ, मल लगायतका कृषि निवेशसम्बन्धी अध्ययन तथा परामर्श सेवा समेत प्रदान गरिनेछ।
डिजिटल कृषि समाधानको रूपमा एआई आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवा पनि उपलब्ध हुने भएका छन्। यसले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन सघाउने र सरकारले भविष्यमा बनाउने कृषि रणनीतिमा सहयोग पुग्ने संघले जनाएको छ।
कार्यक्रममा भारत सरकार अन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक अनुपम कौशिकको विशेष उपस्थिति रहेको थियो। विगतमा नेपालले गहुँ तथा चिनीजस्ता खाद्यान्न भारतबाट आयात गर्दा यसै संस्थाको माध्यम प्रयोग भएको संघले जानकारी दिएको छ।
सो अवसरमा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघका संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।