अपर तामाकोसीको २ अर्व ६४ करोडको आईपिओ चैतदेखि, स्थानीयलाई डिम्याट खाता स्वेच्छिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 07:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ बराबरको सेयर आउँदो चैतमा जारी गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागि चैतभित्रै सेयर निष्कासनको तयारी गरेको हो । दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । 


दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन हुन्छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कम्पनीसँग केही कागजात थप माग गरेकाले उसले त्यसको जवाफ दिनेवित्तिकै सेयर निष्कासनका लागि अनुमति दिने बताए । आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरेको छ । 


२०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमा अतिप्रभावित ‘क’वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ । सेयर दामासाही वितरण गर्दा पनि जनसंख्याअनुसार अतिप्रभावित क्षेत्रका सर्वसाधरणले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावित क्षेत्रकाले ४६ कित्ता र जिल्लाका बाँकी क्षेत्रका सर्वसाधरणले ३३ कित्ता सेयर पाउने अनुमान गरिएको छ । यता आयोजनाले २०७४ असार मसान्तसम्म ९५ प्रतिशतकाम सम्पन्न गरिसक्नु पर्ने लक्ष्य राखे तापनि पुस मसान्तसम्म आइपुग्दा ९४ प्रतिशत मात्र काम पूरा भएको छ ।


दोलखावासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालीका र विवाह भइआएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लाबासी भएको नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ । सेयर दिने प्रयोजनका लागि जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । जिल्ला विकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौता भएको २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरूले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ । 


धितोपत्र बोर्डको स्वीकृति आउनासाथ सेयर निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढ्ने छ । प्रभावित क्षेत्रले बढी सेयर पाउने सहमति यसअघि नै भइसकेको आयोजनाले जनाएको छ । क, ख, वर्गलाई बढी सेयरको आक्षरण गरिएको छ । तर खदिर प्रक्रियामा सबैले न्यूनतम् ३ हजारको ३० कित्तादेखि बढीमा ३० हजारको ३ सय कित्तासम्म खरिद गर्नसक्ने छन् । सेयर खरिदका लागि जन्मेदेखि सबै दोलखाली सहभागी हुन सक्ने छन् । तर सबैको बैंक खाता अनिवार्य गरिने भएको छ ।


यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत् प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीहरूका लागि २ अर्ब ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण र राष्ट्रिय विमा संस्थानबाट करिव २० अर्व रकम ऋण लिएको छ ।
आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको निर्माण अवधि, अमेरिकी डलको मूल्यवृद्धि, बजार मूल्य लगायतका कारणले अहिलेसम्म करिब ४० अर्ब खर्च भइसकेको छ । आयोजना पूरा हुँदासम्म ४६ अर्ब खर्च हुने प्रक्षेपण गरिएको छ । बढ्दो व्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ । 


आयोजनाबाट आउँदो २०७५ असारबाट पहिलो युनिन उत्पादन गरी २०१८ डिसेम्बरबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखिएको छ । तर, हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले अपेक्षित लक्ष्य हासिल गर्न ठेस पुग्ने हो कि भन्ने आशंका पैदा भएको छ । हाइड्रोमेकानिकल अन्र्तगत पेनस्टक पाइप, बाँध र डिस्यान्डरका गेटहरूको काम पर्दछ । आयोजनाबाट उत्पादित विद्युत् प्रसारणलाइनमा जोडिएसँगै सरकारले प्रतिमेगावट ५० लाख रुपैयाँको दरले अनुदान दिनेछ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको गत पुससम्म ९४ प्रतिशत काम सम्पन्न भएको छ ।


डिम्याट खाता स्वेच्छिक
अपर तामाकोसीका लागि दोलखावासीले लगानी गर्नका लागि डिम्याट खाता स्वेच्छिक हुने भएको छ । धितोपत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे पनि तामाकोसीको सेयरमा धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गर्न लागेको हो । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले स्थानीयवासीका लागि ऐच्छिक हुनसक्ने बताए । “सकेसम्म डिम्याट खाता खोल्दा राम्रो हुन्छ, पछि पनि डिम्याट त गराउनैपर्छ,” उनले भने, “तर, धेरैको सहभागिता होस् भनेर डिम्याट नहुँदैमा सेयर लगानीमा वञ्चित नै त हुँदैन ।” पछि डिम्याट गराउन झन्झट हुने हुँदा पहुँच हुनेले अहिले नै डिम्याट गराउँदा राम्रो हुनेछ ।


विभेद नगर्न माग
अपर तामाकोसीको सेयर लगानीका लागि जारी गर्न लागेको सेयर जिल्लावासीलाई ३ वर्गमा विभाजन गरी विभेद गरेको भन्दै स्थानीयहरू आक्रोसित भएका छन् । जिल्लावासी सबैलाई समान हैसियतमा सेयर दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सोमबार ध्यानाकार्षण पत्र बुझाएका छन् । नेपाली कांग्रेसका नेता बर्मा लामाले भने, “दोलखावासी भनेर पहिला नै किटानी गरेपछि फेरि क, ख, ग वर्ग भनेर कसले वर्गीकरण गर्ने अधिकार दियो ?”
जिल्लावासीलाई विभेद नगर्न काठमाडौंमा बसोवास गर्ने दोलखालीले पनि छलफल थालेका छन् । २०७१ मा पनि आयोजनाका लागि स्थानीयबाट सेयर संकलनका लागि आह्वानपत्र जारी भएको थियो । २०७१ चैत १ गतेबाट सेयर संकलन गर्ने गरी सूचना जारी भए तापनि प्रभावितको वर्ग छुट्याउनु पर्ने र मजदुरलाई पनि व्यवस्था गर्नु पर्ने माग राखेर आयोजनाको काम नै रोकेपछि सेयर संकलन प्रक्रिया स्थगित भएको थियो । कारोबार 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved