सिटिजन बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासिकमा सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक बर्षको वित्तीय विवरण प्रकाशन गर्ने चौथो बाणिज्य बैंक बनेको सिटिजनले करिब ३५ प्रतिशतले खुद मुनाफा बढाएको छ।
नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षको तुलनामा ३१ करोडबाट बढेर ३४ करोड ३५ लाख पुर्याएको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उसले पहिलो त्रैमासमा ३४ करोड ३५ लाख बितरण योग्य नाफा आर्जन गरेको छ, जुन बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा बैंकको खुद मुनाफा १० करोडले कम हो। बैंकले राष्ट्र बैंकको प्राबधानअनुसार ८ करोड ७८ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा करोडबाट ३४ करोडमा झरेको हो।
यस अवधिमा बैंकले ८३ अर्ब ३८ करोड निक्षेप संकलन गरि ५९ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ। बैंकले गत आर्थिक बर्षसंगको तुलनामा २९ अर्बले लगानी बढाउँदा बैंकलाई ७१ करोड ३१ लाख खुद ब्याज आम्दानि भएको छ। गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानि ४८ करोड थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड छ भने बैंकको जगेडा कोष १ अर्ब ६८ करोडबाट बढेर ३ अर्ब ३२ करोड पुगेको छ। समिक्षा अवधिमा बैंकको चुक्ता पुंजी ०.६३ प्रतिशत, जगेडा कोष ९७ प्रतिशत, निक्षेप ५८ प्रतिशत र कर्जा २१ प्रतिशत ले बढेको छ।
यस अवधिमा सिटिजन बैंक खराब कर्जा घटाउन सफल देखिएको छ। उसको खराब कर्जा अनुपात १.९९ प्रतिशतबाट झरेर १.२३ प्रतिशतमा ओर्लिएको छ।
दोस्रो बजारमा प्रति कित्ता २४० रुपैयाँ हाराहारीमा कारोबार हुँदै आएको बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट २१ रुपैयाँ ३५ पैसामा बढोत्तरी भएको छ । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १८ पैसा रहेको छ।
यस अवधिमा बैंकको कोष लागत ८.७४ प्रतिशत छ भने आधार ब्याजदर ११.४७ प्रतिशत छ। बैंकको आधार ब्याजदर ११ प्रतिशत नाघेको अवस्थामा सिटिजन बैंकलाई सस्तो ब्याजमा ऋण दिन केहि असहज हुनेदेखिन्छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सिसिड़ी अनुपात) समेत ७९.६२ प्रतिशत छ। यस तथ्यांकले बैंकसंग थप कर्जा तथा लगानीको क्षमता छैन भन्ने देखिन्छ। बैंकले थप कर्जा तथा लगानी बढाउन पहिले निक्षेप संकलनमा जोड दिनुपर्ने हुन्छ।