नेप्सेको अनलाइन प्रणाली भाडामा भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 11:20:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेको अनलाइन कारोबार प्रणाली भाडामा भएको खुल्न आएको छ।  हस्तान्तरणको चरणको रहेको भनिएको अनलाइन कारोबार प्रणालीको स्वामित्व प्रणाली निर्माता कम्पनी वाईको प्राइभेट लिमिटेडसँग पनि नरहेको खुल्न आएको छ। 

ब्यवहारत: उक्त प्रणालीको पूर्ण स्वामित्व नेप्सेको हुनुपर्ने थियो तर निर्माण कम्पनी वाईकोको स्वामित्वमा समेत नहुँदा अनलाइन कारोबार प्रणालीप्रति नै गम्भीर प्रश्न उब्जिएको छ। 

उक्त प्रणालीको सोर्स कोडको स्वामित्व 'इन्फिनिटी कम्प्युटर सोलुसन' नामको भारतीय कम्पनीको नाममा रहेको प्रमाण बिजपाटी डटकमलाई फेला परेको छ। उक्त भारतीय कम्पनीले बेलायतको 'एक' कम्पनीसँग उक्त सोर्स कोड किनेर वाईकोलाई प्रयोग गर्न दिएको प्रमाणमा उल्लेख छ।

सामान्य भाषामा बुझ्दा सोर्स कोड भनेको कुनै पनि वेबसाइट, प्रणाली वा एप्सको मूल सम्पति हो। त्यहि सम्पति निर्माणको लागि नै आइटी कम्पनीहरुले पैसा लिन्छन। प्रणाली तयार भएपछि सोर्स कोड सहित सम्बन्धित कम्पनीलाई हस्तान्तरण गर्नुपर्छ। आइटी बिज्ञ भन्छन, 'यदि कसैले सोर्स कोड बिना प्रणाली हस्तान्तरण गर्छ भने त्यो ठुलो अपराध हो।' 

यतिमात्र नभई हाल नेप्सेले संचालन गरिरहेको अनलाइन कारोबार प्रणालीको सोर्स कोड केहि समयका लागि नेपालको क्षेत्रमा मात्र प्रयोग गर्न दिइएको खुल्न आएको छ। यस प्राबधानअनुसार क्रस बोर्डर कारोबारको चर्चा चलिरहेको बेला त्यसमा यसले प्रणालीको प्रयोगमा प्रत्यक्ष प्रभाव पर्ने विज्ञहरुको भनाई छ।  यस क्षेत्रमा लामो समयदेखि कार्यरत आइटी विज्ञ भन्छन, 'नेपालको क्षेत्रभित्र मात्र सर्त सहित संचालनमा रहने भनिएको नेप्सेको अनलाइन कारोबार प्रणाली पूर्णत भाडामा नै भएको देखिन्छ।' 

'सामान्यतया प्रणाली निर्माण गरिसकेपछि उक्त प्रणालीको पूर्ण स्वामित्व सम्बन्धित निर्माण कम्पनीको नभई निर्माण गराउने कम्पनीको हुनुपर्छ' एकविज्ञले भने, 'नेप्सेको हकमा यसको पूर्ण स्वामित्व वाईकोले नेप्सेलाई नै सुम्पिनुपर्थ्यो, यस्तो नहुँदा उक्त प्रणालीमाथि सोर्स कोर्डको स्वामित्व भएको कम्पनीको दाबि रहन्छ।'

अनलाइन ट्रेडिङमा देखिएका समस्याहरु तथा सोका कारणहरु र समधानका उपायहरु सम्बन्धि अध्ययन गर्न धितोपत्र बोर्डले २०७५ माघ २९ मा अध्यन समिति गठन गरेको थियो। सो समितिको छानबिन प्रतिबेदनमा नेप्से र वाईकोले सोर्स कोड उपलब्ध नगराएको र सोहि कारणले सुक्ष्म रुपमा प्राबिधिक अध्ययन गर्न नसकिएको उल्लेख छ। यसबाट पनि सोर्स कोडको स्वामित्व अझै पनि वाईको र नेप्सेसँग नभएको दाबिमा थप बल पुगेको छ। प्रतिबेदनमा सोर्स कोड उपलब्ध नभएकै कारण अनलाइन ट्रेडिङ सिस्टमबाट क्रस बोर्डर कारोबार हुन सक्ने नसक्ने यकिन नभएको उल्लेख छ।

छानबिन समितिले सोर्स कोडको स्वामित्वमा गम्भीर प्रश्न उठाउदै यसबारे बिभिन्न क्षेत्रका बिज्ञ संलग्न उच्चस्तरीय अनुगमन समिति गठन गरि आवश्यक कार्य अघि बढाउँन सुझाब दिएको थियो।   

वाईकोले नेप्सेको लागि बनाएको अनलाइन कारोबार प्रणालीको ग्राहक स्वीकार्यता परिक्षण (युजर एसेप्टेन्स टेष्ट, युएटि) गरेको कम्पनी एकेएस इन्फर्मेसन टेक्नोलोजी सर्भिसेस प्राइभेट लिमिटेडले समेत आफ्नो अध्ययनमा प्रणालीले राम्रोसँग काम गर्न नसकेको भन्दै कैफियत देखाएको थियो। यो समस्या सुधारका लागि वाईकोले २०१९ मार्च १५ सम्मको अवधि मागेको थियो, तर अहिलेसम्म पनि सोर्स कोर्डमा भारतीय कम्पनीकै स्वामित्व देखिन्छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ मङ्सिर २० मा अनलाइन कारोबार प्रणालीको उद्घाटन गरेका थिए। त्यो बेला पनि उनी उद्घाटन गर्नुपूर्व अनलाइन प्रणालीको आधिकारिकता र स्वामित्वको बिषयमा स्पष्ट हुन् चाहेका थिए। तर वाईको र नेप्सेका केहि अधिकारिले उल्झन खडा गरेर  सिस्टम नदेखाई उद्घाटन गराउन सफल भएको उनी निकट स्रोतले बताएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved