नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि नपुग्दै नव किरण लघुवित्तले मर्जर सम्झौता गरेको छ । महुली लघुवित्त र नव किरण लघुवित्तबीच बुधबार मर्जर सम्झौता भएको हो । सम्झौतामा महुलीको तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरणको तर्फबाट मोहन हरि आचार्यले हस्ताक्षर गरेका हुन् ।
नव किरणले गत पुस ९ गते मात्र राष्ट्र बैंकबाट लाईसेन्स पाएको थियो ।
सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल कायम रहे बमोजिम नै रहने छ । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ ।
मर्जर प्रक्रिया पुरा गर्नको लागि दुवै संस्थाबाट ४-४ गरी ८ सदस्यीय मर्जर कमिटि गठन भएको छ । मर्जरपछि आगामी बैशाख भित्र एकिकृत कारोबार गर्ने लक्ष्य राखिएको छ । १००:९५ को स्वापमा यी दुई संस्था मर्ज हुन् लागेका हुन् । यद्यपि डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा तल माथि भए स्वाप रेसियो परिमार्जन गर्न सकिने उल्लेख छ ।
मर्जर पश्चात बन्ने संस्थाको सीइओमा हालको महुली कै सीईओले निरन्तरता पाउने छन् भने स्नाचालक समितिमा महुलीको तर्फबाट ४ जना र नव किरणको तर्फबाट १ जना रहने छन् ।