
सामाजिक सुरक्षा कोषलाई शेयर बजारमा लगानी गर्ने बाटो खुलेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मङ्सिर १० गते बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ स्वीकृत गरेसंगै कोषलाई शेयर बजारमा लगानी गर्ने बाटो खुलेको हो।
उक्त कार्यविधि अनुसार कोषले विभिन्न १२ वटा क्षेत्रमा रकम लगानी गर्न सक्ने बाटो खुलेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार अब कोषले ऋणपत्र, दिर्घकालिन ऋण (मुद्धति खाता), शेयरमा लगानी, सह वित्तिकरण योजना, डिबेन्चर, म्युचुअल फन्ड लगायतमा लगानी गर्न सक्ने छ ।
कुन शिर्षकमा कतिसम्म लगानी गर्न सक्ने भन्नेबारे कार्यविधिले प्रष्ट रुपमा तोकेको उनले बताए । पन्थीका अनुसार हाल कोषसँग योगदान रकमको ३ अर्ब २० करोड र कल्याणकारी कोषको २६ अर्ब गरी कुल २९ अर्ब लगानी योग्य रकम रहेको छ ।
त्यस्तै योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले १ करोडसम्म कर्जा पाउँन सकिने व्यवस्था कार्यविधिमा रहेको छ । योगदानकर्ताले धितो राखेर शैक्षिक कर्जा, घर कर्जा तथा सामाजिक कार्यमा कर्जा पाउनेछन् । सहभागीले शैक्षिक कर्जा ३५ लाखसम्म, घर कर्जा ७५ लाखसम्म र सामाजिक सांस्कृतिक कार्यको लागि ५ लाखसम्म धितोमा आधारित कर्जा लिन सक्नेछन् ।