अपि पावर कम्पनी Api Power Company ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले मङ्सिर २१ गते आइतबार शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयर बाँडफाँड गरिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यस हिसाबमा कम्पनीले हकप्रदमा बिक्रि नभएको १३ लाख ४६ हजार २ सय १८ कित्ता लिलाम गर्ने छ ।
कम्पनीले दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गरेको हो । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।
आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् ।