राष्ट्र बैंक भन्छ, 'सेयरबजारमा चलखेल गर्नलाई सेयर कर्जाबारे भ्रम फैलाए'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2020 | 09:16:06 AM मा प्रकाशित

sarbottam cement

नेपाल राष्ट्र बैंकले सेयर बजारमा चलखेल गर्ने गिरोहले मौद्रिक नीतिको समिक्षाको अपव्याख्या गरेर बजार घटाएको आरोप लगाएको छ। मौद्रिक नीतिको समिक्षामा 'शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने' उल्लेख भएपनि यसको अर्थ मार्जिन प्रकृतिको कर्जाको सिमा घटबढ गर्ने मात्र नहुने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

राष्ट्र बैंक स्रोत भन्छ, 'बजार आफु अनुकुल बनाउनलाई यसपटक मौद्रिक नीतिको समिक्षालाई अस्त्र बनाइएको छ, मार्जिन प्रकृतिको कर्जाको सिमा घटाउने मात्र नभई बढाउने पनि हुन सक्छ र पुनरावलोकन भनेको कर्जाको सिमा घटबढ मात्र होइन, कर्जाको प्रकृति र प्रकृया पनि हो।' 

आफुहरुले समिक्षामा पुनरावलोकन गर्ने भनेपनि आजको भोलि नै सर्कुलर जारी गरिहाल्ने अर्थ लगाइएको प्रति आपत्ति जनाउदै स्रोत भन्छ, 'चलखेल गर्ने गिरोहलाई कारण चाहिन्छ, यस पटक त्यो कारण मौद्रिक नीतिको समिक्षामा उल्लेख बुँदा भयो, तर सर्कुलर जारी हुनुपूर्व अध्ययन अनुसन्धान आवश्यक पर्छ र त्यसपश्चात सरोकारवालासँग छलफल गर्नुपर्छ भन्ने कुरा सर्वसाधारण लगानीकर्ताले बुझ्नुपर्छ।' 

सेयरधितो राखेर लिइएको कर्जा मात्र सेयरबजारमा प्रयोग भएको छ वा अन्य प्रकृतिको कर्जा पनि सेयरबजारमा प्रयोग भएको छ भन्ने कुरा राष्ट्र बैंकको चाँसोको बिषय भएकाले यसबारे राष्ट्र बैंकले सुक्ष्मरुपमा अध्ययन गरिरहेको र त्यहिअनुसार सर्कुलर जारी हुने स्रोतको दाबी छ। 

मौद्रिक नीतिको समिक्षामा उल्लेख शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने भन्ने बुँदालाई लिएर सर्वसाधारण लगानीकर्ता हतोत्साहित हुनुनपर्ने बताउदै स्रोत भन्छ, 'यस बिषयलाई लिएर तत्कालै सर्कुलर जारी हुदैन, सर्कुलर जारी गर्नुपूर्व सरोकारवालासँग छलफल हुन्छ, छलफल हुने बेला सर्वसाधारणलाई पनि थाहा हुन्छ, त्यसैले अहिले गिरोहको अनावश्यक अड्कलबाजीमा लागेर लगानीको निर्णय लिनु हानिकारक हुन सक्छ। '

जुन प्रयोजनको लागि कर्जा लिईएको हो, त्यहि प्रयोजनमा लगानी भए नभएको बारे राष्ट्र बैंक आफैंले सुक्ष्म अध्ययन गर्ने गर्दछ। बैकको आन्तरिक लेखा परीक्षण, वाह्य परीक्षण र नेपाल राष्ट्र बैकको सुपरीवेक्षणबाट समय समयमा यसको परिक्षण तथा अध्ययन हुने गर्दछ। 

यदि बैकबाट लिएको कर्जा सम्वन्धित प्रयोजनमा नलगाई अन्यत्र दुरुपयोग भएको पाइएमा बैकले कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ र यस्तो कार्य बैंकिंङ क़सूर पनि मानिने भएकाले आन्तरिक रुपमा नै कारबाही हुन्छ तर यो बिषय सामान्यतया बाहिर आउदैन।

बैक तथा वित्तिय संस्थाहरुले २०७७ असोज मसान्तमा ३४ खर्ब १३ कर्जा लगानी गरेका छन्। जसमध्ये  मार्जिन प्रकृतिको शेयर क़र्ज़ा ५९ अर्ब ४० करोड लगानी भएको छ, जुन कुल प्रतिशतको १.७४ प्रतिशत मात्र हो। 

मार्जिन कर्जा बैक तथा वित्तीय संस्थाहरुको कुल प्राथमिक कर्जाको करीव ११ प्रतिशत छ। यो नेपाल राष्ट्र बैकले तोकेको ४० प्रतिशतको अधिकतम सीमा भन्दा निकै कम छ। 

यद्दपी २०७७ असारदेखि देखि असोजसम्मको तथ्यांकलाई हेर्ने हो भने मार्जिन प्रकृतिको शेयर क़र्ज़ा १८ प्रतिशतले मात्र बढेको छ। यस्तो अवस्थामा सेयर कर्जा बढी भयो भनेर राष्ट्र बैंकले कारबाही अगाडी बढाउने कुरा आफैंमा आधारहिन देखिन्छ। तर प्रयोजनमा भने राष्ट्र बैंकको चाँसो हुने गर्दछ। 

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो । उक्त समीक्षामा राष्ट्र बैंकले 'शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने' उल्लेख गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर मार्जिन कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । राष्ट्र बैंकले पुनरावलोकन गर्ने भनेपछि यो दर पुनस् घट्ने लगानीकर्ताको बुझाई छ। लगानीकर्ता संघहरुले समेत मार्जिन दरलाई अहिले नचलाउन माग गर्दै राष्ट्र बैंकमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन्।

मौद्रिक नीति समिक्षा सार्वजनिकको पहिलो दिनको शेयर कारोबारमा बजारमा नकारात्मक सर्किट लागेपछि शेयर कारोबार समय अगावै बन्द भएको थियो। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक २ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेपछि त्यस दिनको लागि कारोबार बन्द भएको हो। सूचक ६ प्रतिशत अर्थात १२३.३४ अंकले घटेर १९३२.११ अंकको बिन्दुमा पुगेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved