अपि पावर कम्पनी Api Power Company ले पुस ६ गतेदेखि हकप्रदमा अवितरित १३ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ४६ हजार २ सय १८ कित्ता लिलाम गर्न लागेको हो ।
लिलामीको शेयरमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ। शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक आवेदकले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल र सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्ने छन् ।
कम्पनीले कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयर बाँडफाँड गरिएको र बाँकि शेयर लिलाम गर्न लागिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गरेको हो । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।
आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् ।