कोरोनाको महामारीमा पनि नेपाल लगायत विश्वभर का सेयर बजारमा यति धेरै उछाल किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 07:49:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को विश्वब्यापी महामारीले नेपाल लगायत विश्वभर करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् भने लाखौँले आफ्नो व्यवसायबाट हात धोएका छन्। कोभिड १९ को लकडाउनका कारण लाखौँ मानिसहरु आधा तलबमा काम गर्न बाध्य भएका छन् भने युरोप अमेरिका जस्ता विकसित देशहरुका सरकारले बेरोजगार भत्ता बापत मोटो रकम खर्च गरेका छन्। 

विश्व समुदाय नै जीवन र जिविकाको लागि संघर्ष गरिरहेको अवस्थामा नेपाल लगायत विश्वभरका सेयरबजारमा भने उछाल आएको छ। चीनको वुहानमा कोरोना भाइरस देखिदै गर्दा केहि देश बाहेक अधिकांश देशहरुका सेयरबजार ओरालो गतिमा थियो। तर कोरोनाको लकडाउन भएपश्चात अधिकांश देशका सेयरबजारले नयाँ उचाई लिएका छन्। 

नेपालमा २०७७ चैत ११ अर्थात मार्च २४ २०२० देखि कोरोनाको लकडाउन सुरु भएको थियो भने कोरोनाको केन्द्रबिन्दु चीनको वुहानमा नेपाल भन्दा केहि महिना अगाडीदेखि   लकडाउन भएको थियो। 

२०२० मार्च सम्म ओरालो गतिमा रहेको विश्व सेयरबजार त्यसयता भने तिब्र वृद्धिका साथ नयाँ उचाईमा पुगेको छ। मार्च २२, २०२० मा १२६१.४२ को बिन्दुमा रहेको नेपालको सेयर बजारको सूचक नेप्से इन्डेक्स जनवरी १४ २०२१ मा २२८६.८४ बिन्दुमा उक्लिएको छ। करिब १० महिनाको अवधिमा नेपालको सेयर इन्डेक्स झन्डै १०२६ अंकले बढेको छ। 

त्यस्तै अमेरिका लगायतका सेयर बजारमा पनि नेपाल जस्तै तिब्र गतिमा उछाल आएको छ। बर्षभरमा एसएण्डपी५०० को सेयर १५ प्रतिशत भन्दा बढीले बढेको छ। तर बेलायतको स्टक एक्सचेन्ज इन्डेक्स एफटिएसई१०० कोरोनाको कारण संघर्ष गरिरहेको तेल कम्पनी, बैंक, एयरलायन्सको कारण त्यति राम्रो अवस्थामा छैन। 

गत बर्षको सुरुवातमा यसमा १३ प्रतिशतको गिरावट आएको थियो तर पछिल्ला केहि महिनामा यसमा पनि तिब्र गतिले बढोत्तरी भईरहेको छ। र युरोपियन संघसंगको ब्यापार सम्झौता तथा कोरोना खोपको प्रयोगको अनुमति पश्चात बेलायतको सेयर बजारमा पनि बढोत्तरी देखिएको छ। 

जापानमा खोप बनेपछि फेरी एक पटक त्यहाँको सेयरबजारमा उछाल आएको छ। बिशेषगरि फर्मास्युटिकल स्टक र गेमिंग कम्पनीको सेयर मुल्यमा तिब्र वृद्धि देखिएको छ। तर नेपालका सुचिकृत केहि कम्पनीको सेयर मुल्यको वृद्धिले जसरी सेयरबजारको समग्र अवस्था देखाउदैन त्यसैगरि जापानमा पनि यी दुई क्षेत्रका कम्पनीको सेयर मुल्यको वृद्धिले त्यहाँको वास्तविक दृश्य देखाउदैन।

नेपाल लगायत विश्वबजारका सेयरबजारमा उछाल किन ?

जानकारहरु भन्छन, लगानीका अन्य क्षेत्र प्रभावित हुँदा तथा लगानीको लागि बैंकमा सस्तो ब्याजदरमा प्रशस्त पैसा हुँदा त्यो लगानी सेयरबजारमा आएकाले नेपाल लगायत विश्वभरका सेयरबजारमा उछाल आएको हो। 

मनी म्यानेजर सकाडर्स बेलायत इक्विटीजको प्रमुख सयु नाफकाका अनुसार सेयरबजारको मुल्य अहिले र तत्कालैको अवस्था नभई सेयरबजार एक गाडी चलाएझैं हो, जहा दृष्टि टाडाको लक्ष देख्छ तर अगाडीकै खाल्डो देख्दैन।  

लगानीकर्ता अपेक्षा गरिरहेका छन् कि स्वीकृत भएका वा विकसित कोरोना खोपलाई सफलता मिल्नेछ र बिक्रि सामान्य हुनेछ। लगानीकर्ता सस्तो ऋणको प्रयोग गरिरहेका छन जुन कारोबारको लागि एक वरदान हो। 

केन्द्रिय बैंक पनि सस्तो ऋणको कारोबारमा लागिरहेका छन् यसको असर पनि देखिरहेको छ। बैंक अफ इंग्ल्याण्डले एक्लै सरकार र कर्पोरेटको ८९५ बिलियन पाउण्ड अर्थात झन्डै नेपालको कुल बजेटको आधा ८ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको बोन्ड खरिद गर्ने तयारीमा छ।  गत मार्च अर्थात् चैतदेखि अहिलेसम्म अमेरिकाको फेडले ३ खर्ब डलरको सम्पती खरिद गरेको छ। 

बेलायत, अमेरिका तथा अन्य सरकारको यस प्रकारको खरिदको उदेश्य ऋणलाई थप सस्तो गर्नु हुन्छ। जब यो पैसा बोन्ड खरिदको रुपमा अर्थव्यवस्थामा आउछ तब ऋण सस्तो हुन्छ भने पैसा पनि सस्तो हुन्छ। 

यसरी प्राप्त हुने सस्तो ऋण तथा पैसाले वित्तीय सम्पती अर्थात सुचिकृत कम्पनीहरुको सेयर मुल्य बढाउने काम गर्दछ। जसकारण बिश्वभरको स्टक मार्केटमा वृद्धि देखिएको हो। 

२०७७ साल मङ्सिर २५ गतेसम्मको तथ्यांकअनुसार नेपालको बैंकिङ प्रणालीमा १ खर्ब ३० अर्ब ७० करोड रुपैयाँ अधिक तरलता ुधेरै पैसाु छ। बैंक वित्तीय सँस्थाले कायम गर्नुपर्ने नगद मौज्दात अनुपात भन्दा माथिको रकमलाई अधिक तरलता भनिन्छ। 

राष्ट्र बैंकले ऋणको सम्भावित मागलाई आधार मानेर बैंकिङ प्रणालीमा अधिक तरलता छाड्ने वा नछाड्ने भन्ने निर्णय गर्दछ। निजि क्षेत्रबाट ऋणको माग २० प्रतिशतले बढ्ने अनुमानको आधारमा अहिलेको अधिक तरलता कायम गरिएको हो। 

एकातर्फ बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सेयरका लगानीकर्ताले सस्तो ब्याजमा सहजै सेयर कर्जा पाएका छन् भने अर्कोतर्फ बैंक वित्तीय सँस्थाहरु तथा इन्स्योरेन्स कम्पनीहरुले पनि छोटो अवधिमा मुनाफा आर्जन गर्ने उदेश्यले सेयरबजारमा लगानी बढाएका छन्। जसले गर्दा नेपालको सेयरबजारमा कारोबार भोलुम उल्लेख्य रुपमा बढेको छ भने सुचिकृत कम्पनीहरुका सेयर मुल्य पनि बढेका छन्। 

यो मात्र नभई आयात तथा निर्माणका काम ठप्प हुँदा त्यस क्षेत्रका व्यवसायीहरु पनि सेयरबजारमा लगानी बढाएका छन् भने बैंकमा राख्दा कम ब्याज पाइने तर बजारमा लगानी गर्दा छोटो अवधिमा मनग्गे आर्जन हुने अपेक्षाले पनि कर्मचारी तथा तलबी कामदारहरुको रोजाईको क्षेत्र सेयर बजार बनेको छ।  यसका साथसाथै घरमै बसेर सेयर कारोबार गर्न पाइने सुविधा लगायतका कारण पनि पछिल्लो १० महिनामा नेपालको सेयरबजारले प्रत्येक दिन कारोबार तथा नेप्से इन्डेक्समा नयाँ रेकर्ड बनाउदै अगाडी बढेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved