अर्थव्यवस्था खुम्चिंदा सेयरबजारमा मात्र उछाल किन, कहिलेसम्म बढ्छ बजार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2021 | 01:47:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को विश्वब्यापी महामारीले नेपाल लगायत विश्वभर करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् भने लाखौँले आफ्नो व्यवसायबाट हात धोएका छन्। कोभिड १९ को लकडाउनका कारण लाखौँ मानिसहरु आधा तलबमा काम गर्न बाध्य भएका छन् भने युरोप अमेरिका जस्ता विकसित देशहरुका सरकारले बेरोजगार भत्ता बापत मोटो रकम खर्च गरेका छन्। 

नेपाल केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृति सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा कोरोनाको करण गरिएको लकडाउन पश्चात ६१ प्रतिशत उद्योग व्यवसाय अझैं संचालन हुन नसकेको उल्लेख छ।  

केन्द्रिय तथ्यांक विभागले कोभिड १९ को वर्ष अर्थात २०७६/७७ मा नेपालको आर्थिक वृद्धि कति हो भन्ने कुरा यकिन रुपमा अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। त्यसैले राष्ट्र बैंकले जारी गरेको सर्वेक्षणमा आर्थिक वृद्धि न्यून हुने भनिएको छ। तर विश्व बैंकले आर्थिक बर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि शुन्य दशमलब ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले पनि नेपालको आर्थिक वृद्धिबारे तथ्यांक सार्वजनिक गर्ने तयारीमा छ तर आइएमएफको प्रक्षेपण विश्व बैंक भन्दा धेरै फरक नपर्ने देखिन्छ। 

नेपालको अर्थतन्त्रमा कोरोनाको महामारीको प्रत्यक्ष असर परिरहेको बेला नेपालको सेयरबजारले भने इन्डेक्स र कारोबारमा ऐतिहासिक उचाई हासिल गरेको छ। मार्च २२, २०२० मा १२६१.४२ को बिन्दुमा रहेको नेपालको सेयर बजारको सूचक 'नेप्से' इन्डेक्स जनवरी २१, २०२१ मा २३७४.६४ को  बिन्दुमा उक्लिएको छ। ११ महिनाको अवधिमा नेप्से १११३.२२ अंकले बढेको छ। नेपालमा २०७७ चैत ११ अर्थात मार्च २४, २०२० देखि कोरोनाको लकडाउन सुरु भएको थियो। 

पछिल्लो १० महिनामा नेपालको सेयरबजारमा यस प्रकारको उछालको कारण के हुन सक्छ र  यस प्रकारको उछालले कहिलेसम्म निरन्तरता पाउँछ भन्ने प्रश्न आम लगानीकर्ताको रहेको छ। यदी अर्थतन्त्रमा संकुचन आएको हो भने सेयरबजारमा मात्र उछाल किन आयो भन्ने प्रश्न पनि थपिएको छ। 

नेपालमा एकातर्फ नेप्से इन्डेक्स र कारोबार रकमको ऐतिहासिक उपलब्धीलाई लिएर हर्षोल्लासको माहोल छ भने अर्कोतर्फ उद्योग व्यवसाय सुचारु हुन नसकेको र बेरोजगारी बढेको रिपोर्ट सार्वजनिक भएका छन्। अर्थतन्त्रकोको ऐनाको रुपमा मानिने सेयरबजारले ऐनाको काम गर्न सकेन किन ?

अमेरिकामा ह्वार्टन बिजनेश स्कुल विश्वभरमा चर्चित छ। यसको एक दैनिक रेडियो कार्यक्रममा बिजनेश स्कुलका वित्त मामिलाका प्रोफेसर इते गोल्ड स्टिनले सेयर बजार र अर्थव्यवस्थाको बीचमा तालमेल नदेखिनुका तीन कारण बताएका छन्। 

उनी भन्छन्, 'पहिलो कारण, जुन प्रत्येक समयको लागि उपयोगी र सत्य साबित भएको छ, सेयरका लगानीकर्ता आगामी समयमा आफ्नो दृष्टि राखेका हुन्छन्। सामान्यतया अर्थव्यवस्थामा अहिले जे भईरहेको छ, जे देखिरहेको छ अर्थात वर्तमान समयमा के भईरहेको छ भन्नेकुरा अर्थव्यवस्थामा हेर्ने गरिन्छ। उत्पादन, विकास खर्च, सरकारी खर्च, रोजगार लगायतका क्षेत्रमा के भईरहेको छ भनेर अर्थव्यवस्थामा हेर्ने गरिन्छ। तर सेयरका लगानीकर्ताहरु भने भविष्यमा आफ्ना दृष्टि राखेर लगानीको निर्णय लिन्छन्।' 

प्रोफेसर गोल्डस्टिनका अनुसार दोस्रो कारण केन्द्रिय बैंकद्वारा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना हुनु हो। विश्वका सबैजसो देशहरुले अर्थव्यवस्थालाई महामारीसँग जुध्नका लागि वित्तीय प्याकेज दिएका छन्, जस कारण बजारमा प्रशस्त तरलताको अवस्था आएको छ।

प्रोफेसर गोल्डस्टिनका अनुसार सेयरबजारसँग जुन कम्पनीहरु जोडिएका छन्, ती कम्पनीले पूर्ण रुपमा अर्थव्यवस्थाको प्रतिनिधि गर्दैनन्। आफ्नो तर्कको पक्षमा उनले महामारीको कुनै नकारात्मक असर नपरेका  फेसबुक, गुगल, अमेजन र नेट फ्लिक्स जस्ता कम्पनीहरु उदाहरण दिन्छन्। यी कम्पनीका सेयर मुल्यमा उछाल आएपनि यी कम्पनीहरुले पुरै अर्थव्यवस्थाको नेतृत्त्व गर्दैनन्। 

बजारमा उछालका कारण के हुन् ?

सेयर ब्रोकरहरुको छाता संगठन नेपाल ब्रोकर संघका निवर्तमान अध्यक्ष भरत रानाभाटले कोरोनाको लकडाउन र अहिलेको अवस्थामा नेपालको सेयरबजारले ऐतिहासिक उचाई हासिल गर्नुमा धेरै कारणहरु रहेको बताएका छन्। रानाभाटकाअनुसार अनलाइनबाट सहज रुपमा कारोबार हुने व्यवस्था तथा सस्तो र सहजै पैसाको उपलब्धता नेप्से इन्डेक्स र कारोबारमा उछाल आउनुका मूल कारण हुन्। 

त्यस्तै नेप्से इन्डेक्स र कारोबारमा उछाल आउनुका अन्य कारणहरुमा बैंकको ब्याजदर घट्दो क्रममा रहनु, कोरोनाका कारण लगानीका अन्य क्षेत्र खुम्चिएर त्यो लगानी तथा ति मान्छे सेयरबजारमा आउनु, कोरोनाको महामारीमा पनि नेप्सेमा सुचिकृत कम्पनीहरुको नाफामा खासै तात्विक भिन्नता नरहनु, सेयरबजारमा नयां लगानीकर्ताको प्रवेशमा वृद्धि हुनु, ५ प्रतिशत करलाई अन्तिम कर मानिएको, ब्रोकर कमिसन घटाउने जस्ता नीतिगत सुधार हुनु रहेको रानाभाटको बुझाई रहेको छ। 

त्यस्तै सेयरबजारका जानकार दिलिप मुनर्कर्मी पनि रानाभाटले भने जस्तै सस्तो ब्याजमा सहजै पैसा उपलब्ध हुनु रहेको बताउँछन। त्यस्तै अर्को कारणमा बजार चक्र र लगानीकर्ताको बलियो मनोबल भएको उनको भनाई छ। बजारमा सहजै सस्तो पैसा उप्लब्ध हुँदा र दैनिक जस्तो बजारले नयाँ अंक जोदिन्दै गर्दा यसबाट लगानीकर्ताको मनोबल उच्च भएको उनको भनाई रहेको छ। 

यता नेपाल उद्योग परिसंघका सल्लाहकार, पुर्व बैंकर तथा अर्थविद डा अनलराज भट्टराईले छोटो समयमा बजार यस प्रकारले यत्तिका उचाईमा पुग्नु सेयर बजारका लगानीकर्ताको लागि जोखिमपूर्ण रहेको बताउँछन् । 

उनी भन्छन्, सेयरबजारमा अहिलेको उछालका विविध कारण भएपनि मूल कारण भनेको यो कुनै सिमित समुहहरुले आफु अनुकुल चलाउदाको नतिजा हो। सिमित समुहहरुले अहिले नेप्से यति उति पुग्छ भन्दै बजारलाई अगाडी बढाईरहेको र उनीहरुको स्वार्थ पुरा भएसँगै बजार आफ्नै ठाउँमा फर्किन्छ। 

आफ्नो भनाईलाई तर्क पेश गर्दै भट्टराईले कहिल्यै डुब्दैन भनेर टाईटानिक जहाज को प्रचार गरीएझैं सिमित समुहले बजार घट्दैन बढिरहन्छ भनेर प्रचार गरिरहेको बताएका छन्। 

के उछालले निरन्तरता पाउँछ ?

भुइँचालो र सेयरबजारको भविष्यबारे कसैले बोल्छ भने त्यो रत्नपार्कमा बसेर अरुको भाग्य हेराएझैं हुने  सेयरबजारका जानकार दिलिप मुनर्कर्मी बताउँछन्। प्राविधिक बिषयलाई आधार मानेर केहि पूर्वानुमान गरीएपनि सेयर बजारको भविष्यमा ठ्याक्कै यस्तै हुन्छ वा यत्तिको बिन्दुमा पुग्छ भन्नुको कुनै तर्क नभएको उनको भनाई छ। 

यता नेपाल उद्योग परिसंघका सल्लाहकार, पुर्व बैंकर तथा अर्थविद डा अनलराज भट्टराई भने सिमित व्यक्ति वा समुहहरुको स्वार्थ बजार बढोस भन्ने भईरहंदा सम्म सेयरबजार बढिरहने र स्वार्थ पुराभएपछि आफ्नै ठाउँ फर्किने दाबी गर्छन्। 

भारतमा शेयरबजारमा उछाल आईरहेको छ । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दाश वित्तीय स्थिरतामा जोड दिंदै भन्छन्, 'अहिलेको समयमा अर्थव्यवस्था र सेयर बजारबीचको तालमेल नहुनु धेरै ठुलो चिन्ताको बिषय हो, यस प्रकारको गतिविधिलाई राज्यले बिशेष ध्यान दिएर जोखिम न्यूनीकरणको लागि चनाखो हुनुपर्छ। ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved