धितोपत्र बोर्डद्वारा स्टक डिलरलाई अनुमतिको प्रमाणपत्र प्रदान, यस्तो छ अबको प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 02:52:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई अनुमतिको प्रमाणपत्र प्रदान गरेको छ । बोर्डमा आज सोमबार आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठलाई  प्रमाणपत्र प्रदान गरेका छन् । 

बोर्डले गत शुक्रबार नै स्टक डिलरलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति प्रदान गरेको भएपनि आज मात्र अनुमतिको प्रमाणपत्र प्रदान गरेको हो । 

नेपाल धितोपत्र बोर्डबाट प्रमाणपत्र पाएपनि बजार प्रवेश गर्न भने अझै केहि समय पर्खनु पर्ने भएको छ । कम्पनीले सिडीएससीबाट सदस्यता लिन बाँकि नै तत्काल बजार प्रवेश गर्न नपाउने भएको हो ।

स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले सिडीएसको मेम्बरसिप लिने काम अझै बाँकि रहेको बताएका हुन् । उनका अनुसार सिडीएसले सदस्यता दिएपछि मात्र कम्पनीले स्टक डिलरको रुपमा कार्य सुरु गर्न मिल्छ । कम्पनीले सिडीएसबाट क्लियारिङ मेम्बरको सदस्यता लिनु पर्छ ।  

अनुमति प्रदान गरिएको पत्र समेत समेटेर सिडीएसमा निवेदन दिनु पर्ने र सिडीएसले सदस्यता दिएपछि मात्र स्टक डिलरको रुपमा बजार प्रवेश गरिने उनले बताए । सिडीएसबाट जति सक्दो छिटो प्रक्रिया सकेर सदस्यता लिने र बजार प्रवेश गर्ने तयारी भईरहेको उनको भनाई छ । यद्यपि अहिले पनि कम्पनीले ब्रोकर मार्फत केहि शेयर कारोबार गरिरहेको उनले बताए । 

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।

साथै, नेपाल सरकारको बजेट बक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो । उक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लि.लाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए  ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनी लि.को प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले विश्वास लिएको छ ।

स्तर डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ  । जसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। 

स्टक डिलर कम्पनीले निश्चित कम्पनीको मात्र शेयर कारोबार गर्न पाउने छ । नेप्सेले नै स्टक डिलरको लागि कारोबार गर्न योग्य कम्पनी चयन गरिदिने छ । नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेका, कम्तिमा १० हजार लगानीकर्ता रहेका, चुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्ने छ ।

नेप्सेले छनौट गरेका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । डिलरले पेश गरेको सुचीमा हेरफेर गर्न आवश्यक देखेमा नेप्सेले हेरफेर गरेर अनुमति दिने छ । कम्पनीको सुचि हेरफेर गर्न चाहेमा स्टक डिलरले लिखित जानकारी गराई स्वीकृत गराउनु पर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेमा ५० लाख धरौटी राख्नु पर्ने छ । धरौटी रकमको २५ गुणासम्म स्टक डिलरले कारोबार गर्न पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved