
नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को आईपिओको आज प्रि अलोटमेन्ट भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज आईपिओको प्रि अलोटमेन्ट सकेर सो को विवरण नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।
प्रि अलोटमेन्ट मोडल अनुसार १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य भएको छ भने ६ हजार २ सय ७६ जनाको आवेदन अयोग्य भएको छ । क्यापिटलका अनुसार १० देखि ५० कित्ताको लागि आवेदन दिने सबैले माग गरे बमोजिम नै शेयर पाउने छन् ।
त्यसपछि ६० कित्ता र त्यस माथि माथिको लागि आवेदन दिने मध्येबाट ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन् । यस हिसाबमा एक जनाले अधिकतम ६० कित्तासम्म शेयर पाउने भएका छन् । आईपिओको बाँडफाँड शुक्रबार बिहान १० बजे हुने छ ।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।
हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आईपिओपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ ।