सानिमा क्यापिटल Sanima Capital ले निष्काशन गरेको म्युचुअल फण्डमा पाचौ दिनसम्ममा ९७ करोड बढीको आवेदन परेको छ । म्युचुअल फण्डमा आज साँझ ५ बजेसम्ममा ६९ हजार ७ सय ४५ आवेदकबाट ९७ करोड ५० लाख ४२ हजार २ सय रकमको आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो ।
क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो । माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले माघ १५ गतेबाट योजनाको इकाई बिक्रि बन्द गर्ने जनाएको छ ।
क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो ।जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् ।
बढी माग भएको खण्डमा यसको आक्रलाई बढाएर १ अर्ब २० करोड सम्म पुर्याउन सकिने क्यापिटलले जनाएको छ । आवेदन दिँदा न्युनतम १०० इकाईको लागि र अधिकतम १ करोड इकाई को लागि दिनु पर्ने छ । मेरोशेयर तथा सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यस निष्काशनमा आवेदन दिन सकिने छ ।