सेयरबजारको लागि पनि एजेन्टको ब्यबस्था गर्ने प्रक्रिया अन्तिम चरणमा, के के गर्छन काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 06:14:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयरबजारको आधिकारिक प्रतिनिधि तोक्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बोर्डले यसबारेको अध्ययन सकेर सरोकारवालाहरु सँग छलफल समेत गरिसकेको छ ।  

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यसबारे अध्ययन सकेर इन्टर एजेन्सी छलफल समेत भईसकेको बताए। उनले ब्रोकर, सिडीएस, नेप्से लगायतसँग यसबारे छलफल भइसकेको बताए । देशका विभिन्न ठाउँमा गएर सेयरबजारको बारेमा जानकारी दिने उदेश्यले आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया अगाडी बढाईएको उनले बताए । 

यसका लागि बोर्डले बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा एउटा समिति समेत बनाएको थियो। उक्त समितिले सेयरबजारको लागि आधिकारिक प्रतिनिधि चयन गर्दा यसले पार्ने प्रभाव, चयन प्रकृया, उनीहरुको सेवा सुविधा लगायतका बिषयमा अध्ययन गरि सकेको छ। 

यतिमात्र नभई आधिकारिक प्रतिनिधि चयनका लागि चाहिने परीक्षाको मोडालिटी र परीक्षामा सोधिने सम्भावित प्रश्नहरुको संगालो निर्माण समेत उक्त समितिले गरेको छ । बोर्ड अध्यक्ष ढुंगानाका अनुसार अब छिट्टै बाँकि काम सकेर यसलाई अन्तिम रुप दिईने छ । 

उनका अनुसार ति प्रतिनिधिले गाउँ गाउँमा गएर आम नागरिकलाई शेयर कारोबार कसरी गर्ने, के के आवश्यक पर्छ, बैंक खाता कसरि खोल्ने, डिम्याट कसरी खोल्ने, मेरोशेयर कसरी खोल्ने, टिएमएसको आईडी पासवर्ड कसरी लिने लगायतका विषयमा सहजीकरण गर्ने छन् ।  उनीहरुले कुन शेयर किनबेच गर्ने बारे भन्ने बारे सुझाव दिन भने पाउने छैनन् ।  उनीहरुको लागि छुट्टै आचारसंहिता समेत बनाईएकोले त्यस विपरित काम गरेमा प्रतिनिधिको लाइसेन्स नै खारेज गरिने उनले बताए ।  

यसअगाडी पनि बाबुराम श्रेष्ठ बोर्डको अध्यक्ष हुँदा बीमा अभिकर्ताकै मोडालिटीमा सेयरबजारको लागि पनि आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया थालिएको थियो। तर आधिकारिक प्रतिनिधि चयन गर्दा यसबाट सेयरबजारको हित कम अहित बढी हुने सल्लाह सुझाव आएपछि श्रेष्ठको पालामानै यो प्रकृया रोकिएको बताइन्छ। 

तर बोर्डकै उच्च अधिकारीहरु भने अधिकारिक प्रतिनिधि चयन गर्ने कुरालाई लिएर असन्तुष्ट देखिन्छन्। ओपन आउट क्राइको बेला आधिकारिक प्रतिनिधि को औचित्य भएपनि अहिले अनलाइन कारोबार तथा सूचना प्रविधिको सहजताको बेला यसको आवश्यकता नभएको र यसले बेथिति बढाउने भन्दै बोर्डकै उच्च अधिकारिहरुले यस बिषयमा आपत्ति जनाएको स्रोतले जनाएको छ। 

निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्कीको पालामा पनि आधिकारिक प्रतिनिधिको चयनको बिषय उठेपनि यसले नकारात्मक प्रभाव पार्ने भन्दै उनले यो प्रकृया रोकेका थिए।

बिजपाटीलाई प्राप्त जानकारीअनुसार आधिकारिक प्रतिनिधि चयन सेयर ब्रोकरहरुको चाँसोमा हुन लागेको हो। २ हजार बढी प्रतिनिधि राख्दा उनीहरु गाउँ गाउँ र पुग्ने र त्यसो भएपछि ब्रोकरले ठुलो खर्च गरेर शाखा पनि खोल्नु नपर्ने भएपछि यस्तो ब्यबस्था गरिन लागेको स्रोत बताउछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved