'नेप्सेले डुबाउँछ' भन्दै नयाँ स्टक एक्सचेन्ज खोल्ने छलफलमा धितोपत्र बोर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 25, 2021 | 02:06:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको निष्कर्षमा पुगेको छ । हाल रहेको एक मात्र स्टक एक्स्चेन्ज नेपाल स्टक एक्सचेन्ज नेप्सेप्रति विश्वस्त हुन नसकेको बोर्ड नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्ने निष्कर्षमा पुगेको हो ।

नेप्सेले लगानीकर्ताको विश्वास जित्न नसकेको, नेप्सेले प्रयोग गरिरहेको प्रविधि भरोसायोग्य नभएको, नेप्सेको कारोबार प्रणालीमा अनेक समस्या रहेको, सरकारी भएको कारणले काम गर्नमा झन्झट रहेको, एउटा मात्र स्टक हुँदा प्रतिस्पर्धा नभएको लगायतका कारणले नयाँ स्टक एक्सचेन्जको आवश्यक महशुस गरिएको बोर्डले जनाएको छ । बोर्ड कै उच्च अधिकारीहरु 'नेप्सेले बजारलाई नै लथालिङ्ग अवस्थामा पुर्याएको र यही पाराले अगाडी जाने हो भने बजारलाई डुबाउने देखिएकोले' नयाँ स्टक चाहिने बताउन थालेका छन् ।

अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन सक्ने गरि सम्पूर्ण जिम्मा जिम्मा धितोपत्र बोर्डलाई प्रदान गरिसकेको छ । ज्ञानेन्द्र कार्की अर्थमन्त्री हुँदा मन्त्रालयले ' नयाँ स्टक एक्सचेन्जलाई धितोपत्र बोर्डलै नै अनुमति दिन सक्ने गरि पूर्ण अधिकार' प्रदान गरेको थियो । त्यसबेला बोर्डका अध्यक्ष रहेका डा. रेवत बहादुर कार्कीले पनि पूर्ण अधिकार बोर्डलाई नै हुने गरि मन्त्रालयले पत्र दिएको पुष्टि गरेका छन् । उनका अनुसार त्यस पत्रमा हाल अर्थसचिव रहेका शिशिर ढुंगानाको हस्ताक्षर छ।

डा. कार्कीका अनुसार बोर्डले त्यहि बेलामा नै नयाँ स्टक ल्याउनको लागि तयारी गरेपनि त्यसपछि सरकार परिवर्तन भएको र त्यसपछि आएका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए ।

तर अहिले नेप्सेको प्रणालीमा पटक पटक समस्या आउँन थालेपछि लगानीकर्ता मात्र नभई नियामक धितोपत्र बोर्ड पनि आजित भएको छ । यस संगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि छलफल सुरु गरेको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले 'कर्पोरेट स्टक एक्सचेन्ज' अर्थात् कर्पोरेट हाउसहरुको लगानीको स्टक एक्सचेन्जको अवधारणामा प्रारम्भिक छलफल चलेको छ ।

डा. कार्की नयाँ स्टक चाहिन्छ कि चाहिदैन भन्ने प्रश्न नै नरहेको बताउछन् । बजार सुधारको लागि एउटा निजि स्टक आवश्यक नै परिसकेको उनको भनाई छ । अहिलेको स्टकको मनोपोली रोक्न, प्रतिस्पर्धा गराई लगानीकर्तालाई सहज रुपमा सुलभ सुविधा प्रदान गर्न र उच्चतम प्रविधि भित्र्याई कारोबार गराउन पनि निजि क्षेत्रको स्टक एक्सचेन्ज आवश्यक भईसकेको उनको भनाई छ । तर अब बन्ने स्टक एक्सचेन्जको चुक्ता पुँजी न्युनतम १ अर्ब हुनु पर्ने उनी बताउछन् ।

 धितोपत्र बजार संचालन नियमावली २०६४ मा स्टक एक्सचेन्जको लाइसेन्स समबन्धि ब्यबस्था छ । जसमा धितोपत्र बोर्डको सिफारिस लिएर, अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने र अनुपतिपत्र पाएपछि पूर्वाधार तयार पार्नु पर्ने उल्लेख छ । नियमावलीमा स्टकको पुँजी न्युनतम ५ करोड हुनु पर्ने उल्लेख भएपछि नयाँ स्टक प्रविधि लगायत हरेक हिसाबले अब्बल हुनु पर्ने भएकोले न्युनतम १ अर्ब पुँजी हुनु पर्ने बोर्डका पूर्व अध्यक्ष डा. कार्की बताउछन् ।

स्टक एक्सचेन्जमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र शेयर ग्रहण गर्न सक्ने ब्यबस्था छ । जसमा कुनै एक कम्पनी वा संगठित संस्थाले कुल पुँजीको दश प्रतिशतभन्दा भन्दा बढी अंश लिन नपाउने ब्यबस्था छ । यस हिसाबमा कम्तिमा १० संस्थाले लगानी गर्नु पर्ने हुन्छ। तर धितोपत्र बोर्डको एक समुह भने संस्थामा कसैको पनि मनोपोली नहोस् भन्ने हिसाबले एउटा संस्थालाई ५ प्रतिशत मात्र शेयर दिएर २० संस्थाको संयुक्त लगानीमा नयाँ स्टक एक्सचेन्ज संचालन गर्न दिनु पर्ने पक्षमा छन् । तर बोर्ड भने सकेसम्म कम संस्थाको लगानी हुने गरी नयाँ स्टकको लाईसेन्स दिनु पर्ने पक्षमा रहेको स्रोतको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved