नेपाल स्टक एक्सचेन्ज नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited को कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको छ । बिहान १०:३० बजेको बैठकले गरेको लाभांश बारेको जानकारी नेप्सेलाई कारोबार जारी रहेको अवस्थामा १२:३४ बजे उप्ल्बंध गराएको भन्दै नेप्सेले कारोबार रोक्का राखी स्पष्टिकरण सोधेको हो ।
धितोपत्र सूचीकरण नियमावलीको ब्यबस्था अनुसार शेयर मूल्यलाई प्रभाव पार्ने सूचना नियम बमोजिम उपलब्ध नगराएको भन्दै नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले उक्त सूचना समयमा उपलब्ध गराउन नसकिएको हो भन्ने बारेको जवाफ माग गरेको छ ।
बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीले हुन आउने ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५ सय ८० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।