
सिडीएस क्लियारिङ लिमिटेडले लगानीकर्ताको गोपनियता कायम नभएको भन्दै गत सातादेखि अनलाइन मिडियाहरुलाई आईपिओको नतिजा प्रकाशन गर्न रोक लगायो । अनलाइन मिडियालाई रोक लगाउदै सिडीएसले आईपिओ नतिजा प्रकाशन गर्ने जिम्मा कम्पनी र बिक्रि प्रबन्धकलाई दियो । साथै आफुले पनि नतिजा हेर्नको लागि छुट्टै वेबसाइट संचालनमा ल्यायो ।
तर लगानीकर्ताको विवरण गोप्य राख्छन् भनिएका कतिपय मर्चेन्ट बैंकरहरुले लगानीकर्ताको विवरण गोप्य राख्नुको साटो उल्टो वेबसाइटमा नै सार्वजनिक रुपमा नै प्रकाशन गरेको पाईएको छ । उनीहरुको वेबसाइटमा फेला परेका विवरणहरुमा लगानीकर्ताको नाम, डिम्याट नम्बर, लगानीकर्तासँग भएको शेयर संख्या, कम्पनीको नाम लगायत रहेका छन् । अझ एक बिक्रि प्रबन्धकको वेबसाइटमा एउटा कम्पनीको शेयर बाँडफाँडको सम्पूर्ण विवरण समेत रहेको छ । त्यसमा लगानीकर्ताको डिम्याट नम्बर, लगानीकर्ताको पुरा नाम, आईपिओमा आवेदन दिएको संख्या र परेको शेयर संख्याको विवरण एक्सेल फाइल मै राखिएको भेटिएको छ ।
यसरि लगानीकर्ताको गोप्य विवरण वेबसाइट मै राखेर सार्वजनिक गर्नेमा प्रभु क्यापिटल, मुक्तिनाथ क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, आरबिबि मर्चेन्ट बैंकिङ लगायत रहेका छन् ।
प्रभु क्यापिटलले डिम्याट रिजेक्सन लिस्ट र डिम्याट रिजेक्सन आरटिएस लिस्ट भन्दै क्रमश १४१ र ४८ जना लगानीकर्ताको डिकम्याट र नाम सहितको विवरण वेबसाइटमा राखेको छ ।
त्यस्तै ग्लोबल आईएमई क्यापिटलले डिआरएन रिजेक्टेड लिस्ट भन्दै ४३ जना लगानीकर्ताको डिम्याट नम्बर, नाम , कम्पनीको नाम , र शेयर संख्याको विवरण सार्वजनिक रुपमा वेबसाइट मै राखेको छ ।
मुक्तिनाथ क्यापिटलले पनि डिकम्याट रिजेक्सन लिस्ट भन्दै लगानीकर्ताको डिम्याट नम्बर, नाम , कम्पनीको नाम लगायतको विवरण वेबसाइटमा जो कोहिले पनि सहजै हेर्न सक्ने गरि राखेको छ ।
आरबिबि मर्चेन्टले भने नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र पाउने सबैको विवरण वेबसाइटमा नै राखेको छ । प्राइभेट प्लेसमेन्ट अन्तर्गत बाँडफाँड गरिएको विवरण उसले वेबसाइटमै राखेको छ । जसमा कम्पनीको डिम्याट नम्बर, आवेदन गरिएको कित्ता र बाँडफाँड गरिएको कित्ताको विवरण छ ।
यति मात्र होइन आरबिबिले नेपाल पुनर्बिमा कम्पनीको आईपिओको पूर्ण विवरण आफ्नो वेबसाइटमा एक्सेल फाइलमा राखेको छ । जुन एक्सेल फाइल सहजै जो कोहिले डाउनलोड गरि त्यस भित्रको विवरण हेर्न सक्छन् । त्यस एक्सेल फाइलमा कम्पनीको आईपिओ पाउने ३ लाख ९० हजार ६ सय ३८ जना लगानीकर्ताको नाम, उनीहरुको डिम्याट नम्बर, उनीहरुले आवेदन दिएको कित्ता र उनीहरुलाई परेको शेयरको विवरण रहेको छ ।
यति मात्र होइन, आरबिबिको वेबसाइटमा नेको इन्स्योरेन्सको लाभांश पाउँन योग्य रहेका ५२९ जना लगानीकर्ताको नाम, उनीहरुको डिम्याट खाता नम्बर, उनीहरुको बैंक नाम र उनीहरुको बैंक खाता समेत सार्वजनिक रुपमै वेबसाइट मै राखेको छ ।
त्यस्तै सिद्धार्थ क्यापिटलले पनि डिम्याट रिजेक्सन लिस्ट भन्दै १२३ पेजको पीडिएफ फाइल वेबसाइटमा राखेको छ । त्यसमा लगानीकर्ताको नाम, डिम्याट नम्बर, र कम्पनीको नाम उल्लेख छ ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ मा गोपनियता कायम गर्नु पर्ने ब्यबस्था छ। धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ मा ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।' भन्ने उल्लेख छ। तर गोप्यता कायम राख्नुको ठिक विवरण लगानीकर्तासँग सम्बन्धित विवरण उनीहरुले आफ्नै वेबसाइटमा प्रकाशन गरेर कानुन कै धज्जी उडाईरहेका छन् ।
यसरि लगानीकर्ताको गोप्य विवरणहरु मर्चेन्ट बैंकरहरुले वेबसाइटमा सार्वजनिक गर्दा समेत नियामकले भने यसमा ध्यान दिन सकेका छैनन् । तर धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७मै टेकेर अनलाइन मिडियाहरुलाई आईपिओको नतिजा प्रकाशनमा भने रोक लगाईएको छ ।