ज्योति लाइफ आईपिओ रिभ्यु : १.३९ प्रतिशत बजार हिस्सा, यसै वर्ष २ करोड ६८ लाख नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 08:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले फागुन २१ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले एक सय अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। 

कस्तो हो कम्पनी ?

यस इन्स्योरेन्स कम्पनी २०७४÷०१÷२४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट बीमा ऐन, २०४९ अनुसार मिति २०७४÷०३÷२० मा बीमकको हैसियतले जीवन बीमा कारोवार गर्न स्वीकृति तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७४÷०७÷२२ गते कारोबार संचालनको स्वीकृति प्राप्त गरी आफ्नो कारोवार सञ्चालन गर्न गर्दै आएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३०, ज्ञानेश्वर, काठमाडौंमा रहेको छ भने देशभर विभिन्न स्थान ११८ शाखा र उपशाखा छन्  ।   

यस कम्पनीले आफुले Quality Management System पालना गरेबापत ISO 9001:2015 Certificate प्राप्त गरी नेपाली जीवन बीमा कम्पनीहरुमध्ये ISO Ceritficate प्राप्त गर्ने पहिलो नेपाली जीवन बीमा कम्पनी रहेको उल्लेख गरेको छ । 

के छन् उदेश्य ?

कम्पनीले आफ्नो उदेश्यहरु निम्न अनुसार रहेको जनाएको छ । 

प्रचलित बीमा सम्बन्धी कानूनको परिधि भित्र रही सबै किसिमका जीवन बीमा व्यवसाय गर्ने गराउने । जीवन बीमा व्यवसायको लागि आवश्यक पर्ने पुनर्बीमा व्यवसाय गर्ने गराउने । पुनर्बीमाको व्यवसाय स्वदेश तथा विदेशमा गर्ने गराउने । पूँजी, बीमा, पुनर्बीमा व्यवसाय, लगानी प्रतिफल तथा अन्य आम्दानीबाट प्राप्त भएको विभिन्न क्षेत्रमा लगानी गर्ने गराउने । जोखिम व्यवस्थापन गर्ने तथा गराउने तथा जोखिम व्यवस्थापन सम्बन्धी सल्लाह प्रदान गर्ने । राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने, कृषि, औद्योगिक, पर्यटन, वित्तीय, पूर्वाधार निर्माण लगायतका सम्बन्धी सहायक तथा अन्य कम्पनीको स्थापना, प्रबद्र्धन तथा व्यवस्थापन गर्ने गराउने । प्रचलित मान्यता र स्थापित सिद्धान्तको आधारमा जीवन बीमा व्यवसाय गर्नको लागि आवश्यक पर्ने सबै कार्यहरु गर्ने गराउने । 

पुँजी संरचना 

 कम्पनीको अधिकृत पूँजी  तीन अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी  दुई अर्व बीस करोड रहेको छ ।  कम्पनीको तत्काल चुक्ता पूँजी एक अर्ब चौवन्न करोड रहेको छ । आईपिओ निष्काशन गरी  बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्व बीस करोड हुनेछ । जसमा संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत रहने छ भने सर्बसाधारण शेयरधनीको हिस्सा ३० प्रतिशत रहेको छ ।

संस्थापक/संचालक विवरण 

संस्थाको आधारभुत शेयरधनीहरुमा  महेश कुमार जाज, सुरेश कुमार राठी, कल मोबिलिटी प्रा. लि., चन्द्र टण्डन, विद्या देवी अग्रवाल, सतिश कुमार मोर, जि.ओ. अटोमोबाईल्स प्रा.लि.,  आकाश गोल्छ, दिपक कुमार मुन्दडा, संजीव सर्राफ, वेंकटेश मुन्दडा, नन्द किशोर शर्मा, गौरव सारदा, अदिती चोखानी, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि, शिरिश कुमार मुरारका,, बोध प्रसाद त्रिपाठी, एनआईसी एशिया बैंक लि, नितेश अग्रवाल र उषा अग्रवाल रहेका छन् ।

कम्पनीको संचालकहरुमा नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ, जयन्त कुमार अग्रवाल र दीपक कुमार अग्रवाल रहेका छन्  । कम्पनीको अध्यक्ष नन्द किशोर शर्मा हुन् ।

संचालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षले प्रति बैठक १२ हजार र अन्य संचालकले प्रति बैठक १० हजार भत्ता पाउँछन् । यस बाहेक अन्य सुविधाहरुमा पत्र पत्रिका तथा संचार तथा खर्च बापत मासिक प्रदान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

ब्यबस्थापन विवरण 

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री रहेका छन् । उनी एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्समा संचालक रहिसकेका छन् । उनले लक्ष्मी बैंकमा ४ वर्ष ७ महिना काम गरेका थिए । उनी ज्योति लाईफमा स्थापनादेखि मिति २०७७ वैशाखसम्म नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । संस्थामा सहायक महाप्रबन्धकको रुपमा फर्शुराम मरासिनी र राजीव गुरुवाचार्य रहेका छन् । 

कम्पनीले सीइओ खत्रीलाई एक वर्षको पारिश्रमिकको रुपमा ८५ लाख १० हजार १ सय ९४ रुपैयाँ प्रदान गरेको जनाएको छ । त्यस्तै सहायक महाप्रबन्धकको रुपमा रहेका मरासिनी र गुरुवाचार्यलाई कम्पनीले एक वर्षको अवधिको क्रमश ३७ लाख ७४ हजार र ३१ लाख ८२ हजार पारिश्रमिक प्रदान गरेको उल्लेख गरेको छ । संस्थामा २२४ स्थायी, ४९ अस्थायी र परिक्षणकालमा रहेका ५५ जना गरि कुल ३२८ कर्मचारी रहेका छन् ।  

वित्तीय विवरण 

कम्पनीले आर्थिक वर्ष ७३/७४, ७४/७५, र ७५/७६  मा क्रमश ९६ लाख ६२ हजार, १ करोड २० लाख, र १ करोड ८२ लाख खुद नाफा कमाएको उल्लेख गरेको छ ।  त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७ मा अपरिस्कृत वित्तीय विवरण अनुसार १ करोड ९२ लाख खुद नाफा कमाएको उल्लेख गरेको छ ।  

कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा क्रमश २ करोड ६८ लाख, ३ करोड ३७ लाख र ३ करोड ९३ लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ ।  यी आर्थिक वर्षमा बीमाको प्रिमियमबाट क्रमश २ करोड ७९ लाख, ४ करोड ३६ लाख र ६ करोड १७ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ ।  कम्पनीले यी आर्थिक वर्षमा कुल प्रिमियम वृद्धिदर क्रमश ५७ प्रतिशत, ५६ प्रतिशत र ४१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।   

कम्पनीले आर्थिक वर्ष ७३/७४, ७४/७५, र ७५/७६ को प्रतिशेयर आम्दानी क्रमश ०.६३, ७.८५, र ११.८२ रहेको उल्लेख गरेको छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७ मा अपरिस्कृत वित्तीय विवरण प्रति शेयर आम्दानी १२.६५ रहेको उल्लेख गरेको छ ।  कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० को प्रतिशेयर आम्दानी क्रमश १२.२०, १५.३३, र १७.८९ हुने प्रक्षेपण गरेको छ । 

त्यस्तै कम्पनीले आर्थिक वर्ष ७३/७४, ७४/७५, र ७५/७६ को प्रतिशेयर नेटवर्थ  क्रमश १००.६३, १०८.४७, र १२०.२९ रहेको उल्लेख गरेको छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७ मा अपरिस्कृत वित्तीय विवरण प्रति शेयर नेटवर्थ १३२.९४ रहेको उल्लेख गरेको छ ।  कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० को प्रतिशेयर नेटवर्थ क्रमश १३५.२६, १५०.५९, र १६८.४९ हुने प्रक्षेपण गरेको छ । 

लाभांश विवरण 

कम्पनीले विवरणपत्रमा प्रक्षेपित लाभांशबारेको विवरण उल्लेख गरेको छैन । 

आईपिओबाट उठेको रकमको उपयोग 

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, बीमा समिती तथा अन्य प्रचलित कानून बमोजिमको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गरिने उल्लेख गरेको छ । जस अनुसार ४२ करोड रकम वाणिज्य बैंकको मुद्दती निक्षेपमा, १८ लाख विकास बैंकको मुद्दती निक्षेपमा, ३ करोड ५० लाख पब्लिक कम्पनीको शेयरमा लगानी गर्ने उल्लेख गरेको छ  । त्यस्तै कम्पनीले डेढ करोड शाखा विस्तारमा र शाखाको स्तरोन्नतीको लागि १ करोड उपयोग गरिने उल्लेख गरेको छ । 

प्रत्याभूति विवरण 

आईपिओ मार्फत निष्काशन गरिने शेयरहरु पूर्ण रुपमा बिक्री नभएमा प्रचलित कानूनको अधिनमा रही सार्वजनिक निष्काशनको उद्देश्य प्राप्ती गर्नको लागि वैकल्पिक व्यवस्था गरिएको छ । साथै निष्काशन गरिने साधारण शेयरहरुको शत् प्रतिशत अर्थात ६६,००,००० थान साधारण शेयरको लागि लक्ष्मी क्यापिटल लिमिटेडबाट प्रत्याभूती गरिएको छ । यस सेवाको लागि कम्पनीले ३ लाख ५० हजार तिर्ने छ  ।

शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस सेवाको लागि कम्पनीले क्यापिटललाई ४ लाख शुल्क दिने छ ।

क्रेडिट रेटिङ्ग 

 केयर नेपालले २०७७÷०३÷२५ मा कम्पनीलाई  “CARE NP BBB '' इस्युअर रेटिङ प्रदान गरेको छ र  सो को अवधि एक वर्ष रहनेछ । यो रेटिङ्गले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी रहेको जनाउँदछ ।

कम्पनीले ओगटेको बजार क्षेत्र ः

यस कम्पनीले सातवटै प्रदेशमा आफ्नो प्रादेशिक कार्यालयहरु स्थापना गरी सम्बन्धित प्रादेशिक कार्यालय अन्तर्गत रहने गरी नेपालभर शाखा तथा उप–शाखाहरु मार्फत जीवन बीमा सेवा संचालन गरिरहेको छ । कम्पनीले आ.व. २०७५÷७६ मा १९,०१७ बीमालेख जारी गरी रु. ८५,८८,४२,१०३÷– प्रथम बीमा शुल्क र नविकरण शुल्क रु. १५,८७,४५,९४६÷ समेत गरी जम्मा रु. १,०१,७५,८८,०४९÷– संकलन गरेको छ । साथै, यस कम्पनीले रु. ६९,२४,६५,८६३÷– को जीवन बीमा कोष कायम गरेको छ । आ.व. २०७५÷७६ मा लगानीको प्रतिफल औषत १०.५० प्रतिशत रहेको र कम्पनीले आ.व. २०७५÷७६ मा रु. १८,६८,९१,५३०÷– खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी व्यवसायको विकासमा प्रत्यक्ष भुमिकामा रहेका अभिकर्ताहरुको संख्या ८,२४२ भएकोमा सो संख्याको गुणात्मक वृद्धि तथा व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी रुपमा अभिकर्ता तालिम संचालन कार्यक्रमहरु संचालन गरिएको छ । आ.व.२०७५÷७६ मा सम्पूर्ण जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क वापत करिब रु ७१ अर्ब ४ करोड संकलन गरेका छन् जसमध्ये यस बीमा कम्पनीले संकलन गरेको शुल्क कूल बीमा शुल्कको करीब १.३९ प्रतिशत बजार हिस्सा रहेको छ ।

नोट: यो रिभ्यु कम्पनीले सार्वजनिक गरेको विवरणपत्रको आधारमा तयार पारिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved