
कुमारी क्यापिटल Kumari Capital ले बिक्रि खुला गरेको सामुहिक लगानी कोष 'कुमारी इक्विटी फण्ड' मा आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ । क्यापिटलले माघ १४ गतेदेखि कोषको इकाई बिक्रि खुला गरेको थियो ।
क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने कुमारी इक्विटी फण्डको इकाई निष्काशन गरेको हो। क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले ८० करोड रुपैयाँको १० वर्षे बन्दमुखी योजना संचालन गरेको हो । यसमा लगानीकर्ताले १ हजारदेखि ८ करोडसम्मको आवेदन दिन सक्ने छन् । कुल इकाई मध्ये १५ प्रतिशत कोष प्रबर्दक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । बढी माग भएको खण्डमा फण्डको आक्रलाई १ अर्ब सम्म पुर्याउन सक्ने ब्यबस्था छ ।
के हो सामुहिक लगानी कोष ?
सामुहिक लगानी कोषहरुले सानो सानो पुँजी जम्मा गरेर ठुलो रुपमा लगानी गर्छन । साना साना लगानीकर्ताको रकम एकत्रित गरि उनीहरुले लगानी गरेर प्रतिफल दिन्छन् । उनीहरुले शेयरबजारमा लगानी गर्छन र यसबाट साना लगानीकर्ताहरु अप्रत्यक्ष रुपमा शेयरबजार सँग जोडिन सक्छन् । साथै शेयरबजारमा प्रवेश गर्न चाहने तर त्यसबारे पर्याप्त जानकारी नहुनेहरुको लागि पनि यो उपयुक्त हुन्छ । कोषका इकाईहरु नेप्सेमा सुचिकृत हुने भएकोले लगानीकर्ताले अन्य शेयर झैँ त्यसको इकाई पनि बजारमा बिक्रि गर्न सक्छन् ।
कुमारी इक्विटी फण्डमा के छ खास ?
कुमारीले संचालन गरेको यो १० वर्षे बन्दमुखी योजना हो । नेपाल धितोपत्र बोर्डले सबै लगानी कोषहरुको लागि के शिर्षकमा कति रकम लगानी गर्न पाउने भन्ने तोकिदिएको हुन्छ । सोहि कारण अन्य म्युचुअल फण्ड र यसमा खासै फरक हुदैन । क्यापिटलका प्रमुख संचालन अधिकृत पुष्प शर्मा अन्य म्युचुअल फण्डको भन्दा आफ्नो फण्डले लगानी गर्दा कम्पनी छनौट गर्ने प्रक्रिया फरक हुने बताउछन् । आफुले गर्ने अध्ययन, कम्पनी छनौट, बजार प्रवेश गर्ने तथा निस्कने समय फरक हुने उनको भनाई छ।
यो फण्डले ७० देखि ७५ प्रतिशतसम्म शेयरबजारमा सुचिकृत कम्पनीहरु मै लगानी गर्ने छ । तर फण्डले बजारमा उपलब्ध सबै कम्पनीमा भने लगानी गर्दैन । फण्डले ५ जनाको सुपरभाइजरको समुह बनाएको छ । समुहमा सुर्य प्रसाद कोइराला, भरत राज पोख्रेल, कृष्ण प्रसाद मैनाली, नवराज बुर्लाकोटो र पराजित कुमार तिमल्सिना रहेका छन् ।
कसले दिन सक्छ आवेदन ?
यसमा नेपाली नागरिक, गैर आवसीय नेपाली, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै संचयकोष, कल्याणकारी कोष, गुठि, अक्षयकोष आदिले आवेदन दिन सक्ने छन् ।
कति दिन्छ लाभांश ?
योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गर्ने छ। खुद मुनाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम संचित मुनाफा पूनः लगानीका लागि उपयोग गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । जसमा दोस्रो वर्षदेखि ९ औ वर्षसम्म क्रमश ८ प्रतिशत, १० प्रतिशत, १२ प्रतिशत, १३ प्रतिशत, १४ प्रतिशत, १५ प्रतिशत, १५ प्रतिशत, १५ प्रतिशत लाभांश वितरण गर्न प्रक्षेपण गरेको छ । समग्रमा कम्पनीले दश वर्षको अवधिमा कुल २२६.९५ प्रतिशत प्रतिफल प्रदान गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलले १० वर्षपछि योजना परिपक्क हुँदा इकाईको न्याभ बढेर २२.४९ पुग्ने प्रक्षेपण गरेको छ । न्याभ भनेको प्रति इकाईको खुद सम्पति मूल्य हो, जुन अहिले १० रुपैयाँ रहेको छ ।
यद्यपि प्रमुख संचालन अधिकृत शर्मा यो प्रक्षेपण मात्र रहेकोले प्रतिफल यो भन्दा बढी नै हुने दाबी गर्छन्। उनले लगानी सुरक्षित हुने भएकोले लगानीकर्तालाई ढुक्क भएर फण्डमा लगानी गर्न समेत आग्रह गरेका छन् ।
कसरी दिन सकिन्छ आवेदन ?
यसमा अन्य आईपिओमा जस्तै मेरोशेयर तथा सीआस्वा सदाय रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । तर एक व्यक्तिले आफूले लिन चाहेको सम्पूर्ण इकाईको लागि एकभन्दा बढी आवेदन दिन पाइने छैन । यदि एकै व्यक्तिले एकभन्दा बढी आवेदन दिएमा सम्पूर्ण आवेदन रद्द हुनेछ । त्यस्तै ५ लाख भन्दा कमको आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र सोभन्दा बढी रकमको लागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा आवेदन फारममा आफ्नो स्थायी लेखा नम्बर प्यान खुलाउनुपर्नेछ ।