
लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकमको संचालक पदमा उम्मेदवारी दिने इच्छा प्रकट गरेका छन् । आगामी चैत्र २३ गते हुन लागेको टेलिकमको साधारणसभामा १ जना संचालकको लागि पनि निर्वाचन हुने भएकोले उनले सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचनमा सहभागी हुने जनाएका हुन् ।
पौडेलले साधारण सभामा उपस्थित भई आफुलाई मतदान गर्न अथवा साधारण सभामा उपस्थित हुन नसकेमा प्रोक्सी दिई सहयोग गरी दिनु हुन टेलिकमका लगानीकर्तासँग आग्रह गरेका छन्। उनले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यावस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै आफ्नो लगानी सम्बन्धि ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।
टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत , सर्वसाधारण शेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व छ । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो ।
नेपाल टेलिकमले आफ्नो पूँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबै भन्दा बढी राजश्व दिने,कर्मचारीहरुलाई सबै भन्दा बढी वोनस दिने र लगानीकर्ताहरुलाई सबै भन्दा बढि प्रतिफल दिने र पुँजीबजारको सबै भन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने पौडेलको दाबी छ।