ग्रीनलाइफ हाइड्रोको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । सिडीएसले बिहिबारबाट आईपिओ परेका लगानीकर्ताको खातामा शेयर पठाउन लागेको हो ।
कम्पनीले शुक्रबार शेयर सूचीकरण गराउने तयारी गरेको छ । शुक्रबार शेयर सूचीकरण भएमा आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको GLH सिम्बलमा कारोबार हुने छ ।
कम्पनीले सर्बसाधारणलाई माघ २३ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो। सर्वसाधारणले २ करोड २६ लाख ९१ हजार ४ सय ९० कित्ताकोलागी आवेदन दिएका थिए।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका थिए । त्यस्तै यी मध्ये २० कित्ता देखि १० हजार कित्ताको लागि आवेदन दिएकाबाट २ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका थिए भने आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली भएका थिए ।
सर्बसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुगेको छ। यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ ।