कतिमा भयो ग्रिन लाइफ हाइड्रो र महिला लघुवित्तको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 11:02:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्रिन लाइफ हाइड्रो र महिला लघुवित्तको शेयर कारोबार सुरु भएको छ । दुवै कम्पनीको आज मंगलबारबाट कारोबार सुरु भएको हो ।

आजको प्रि ओपन सेसनमा  ग्रिन लाइफ हाइड्रोको पहिलो कारोबार प्रति कित्ता २९९ मा र महिला लघुवित्तको प्रति कित्ता कारोबार ४३८ मा सुरु भएको हो । दुवै कम्पनीको शेयर सोमबार सुचिकृत भएका थिए ।

महिला लघुवित्तको MLBSL सिम्बलबाट कारोबार सुरु भएको हो ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती रेन्ज तोकेकोमा ४३८ मा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओमा  १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार  १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका थिए । यस हिसाबमा  आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएका थिए ।  आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुगेको छ।

त्यस्तै ग्रिन लाइफ हाइड्रोको GLH सिम्बलबाट कारोबार सुरु भएको हो।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती रेन्ज तोकेकोमा २९९ बाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीले सर्बसाधारणलाई माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  सर्वसाधारणले २ करोड २६ लाख ९१ हजार ४ सय ९० कित्ताकोलागी आवेदन दिएका थिए।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका थिए ।  त्यस्तै यी मध्ये २० कित्ता देखि १० हजार कित्ताको लागि आवेदन दिएकाबाट २ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका थिए भने आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली भएका थिए । 

सर्बसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुगेको छ। यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोलाहनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ   कम्पनीले २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved