सेयरको दोस्रो बजारमा सुचिकृत केहि कम्पनीको सेयरमा कर्नरिङ बढेको आरोप लागेपछि यस सम्बन्धि नीति नियम संसोधन गर्नलाई नेपाल धितोपत्र बोर्ड तयार देखिएको छ। संगठित संस्थाको जारी पुंजीको कम्तिमा दश प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्न पाउने व्यवस्थाले कर्नरिङ बढेको आरोप लागेपछि बोर्डले यस्तो प्रतिकृया दिएको हो।
उत्पादनमुलक कम्पनीलाई अभिप्रेरित गर्नलाई बनाईएको कानुनी व्यवस्थाले समस्या उत्पन्न भए कानुन नै संसोधन गरेर अगाडी बढ्नलाई धितोपत्र बोर्डलाई गाह्रो नहुने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बिजपाटीलाई बताए।
"बैंक वित्तीय सँस्थाको मात्र हिस्सा धेरै भएको र उत्पादनमुलक क्षेत्र कम भएकाले उत्पादनमुलक कम्पनीलाई उत्प्रेरित गर्नलाई जारी पुंजीको घटीमा दश प्रतिशत सेयर आइपीओ निष्काशन गरे हुने व्यवस्था गरिएको हो" प्रवक्ता गिरीले भने, "यदि यो व्यवस्थाका कारण कर्नरिङ बढ्छ वा अन्य समस्या सिर्जना हुन्छ भने कानुन संसोधन गरेर अगाडी बढ्न सकिन्छ"।
उनी अगाडी थप्छन्, 'सम्बन्धित कम्पनीलाई अभिप्रेरित गर्नलाई र सरोकारवालाहरुलाई विश्वासमा ल्याउनलाई नीति नियम सहज बनाइने हो। यसका फाइदा बेफाइदालाई मूल्यांकन गरेर नियामक अगाडी बढ्ने हो, सेयरबजारको विकास तथा बिस्तार र लगानीको जोखिम न्यूनीकरण गर्नलाई कानुनी व्यवस्था सुधार गर्नलाई धितोपत्र बोर्डलाई पनि गाह्रो छैन। '
हालै मात्र आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको सेयर मुल्य उसको वित्तीय तथा प्राविधिक अवस्था भन्दा फरक रहेको र कर्नरिङका कारण यस्तो भएको आम लगानीकर्ताको बुझाई रहेको छ। त्यस्तै सेयरको दोस्रो बजारमा सुचिकृत अन्य केहि कम्पनीहरुका सेयरहरुको मुल्य पनि कर्नरिङका कारण वास्तविक भन्दा अति धेरै भएको र यसले आम सर्वसाधारणको लगानी जोखिममा परेको विश्लेषण गरिएको छ।
धितोपत्र दर्ता तथा निस्काशन नियमावली २०७३ 'चौथो संशोधन सहित ' को दफा ९ को उपदफा १ मा "सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाको जारी पूँजीको दश प्रतिशत भन्दा घटी र उनन्चास प्रतिशत भन्दा बढी नहुने गरी शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (इनिशियल पब्लिक अफरिङ) गर्नु पर्नेछ" भन्ने उल्लेख छ।
जारी पुंजीको न्युनतम दश प्रतिशत सेयर आइपीओ निष्काशन गर्न पाउने व्यवस्थाले सेयरको आपूर्ति कम हुन जाने र यस्तो सेयरमा चलखेल गर्न सहज हुने भएकाले पछिल्लो समय यो व्यवस्था हटाउनलाई धितोपत्र बोर्डमाथि दबाब बढेको छ। चुक्ता पूँजी कम भएका कम्पनी र ठूला लगानीकर्ताहरुको पकडमा रहेको कम्पनीहरुमा सेयर कर्नरिङ बढी हुने गर्दछ ।
सेयर कर्नरिङका केही उदाहरण
कर्नरिङ भनेको कुनै निश्चित समुहले सुनियोजित रुपमा बजारमा आए जति शेयर होल्ड गर्नु हो। यसो हुँदा बजारमा बिक्रीकर्ता नहुने समस्या हुन्छ। चुक्ता पूँजी कम भएका कम्पनी र ठूला लगानीकर्ताहरुको पकडमा रहेको कम्पनीहरुमा सेयर कर्नरिङ बढी हुने गर्दछ ।
अहिले चन्द्रागिरी हिल्समा भएको सेयर कर्नरिङ कुनै बेला नेको इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्समा पनि भएको बताइन्छ। त्यो बेला यी दुई कम्पनीबीच मर्जर तोडिएपछि धेरै लगानीकर्ताले ती कम्पनीको बजारमा सेयर किन्ने प्रयत्न गरे। तर सेयर कर्नरिङका कारण यसको मुल्य हजारमाथि पुगेको थियो।
अर्को उदाहरणका रुपमा एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार पनि हो। एभरेष्ट इन्स्योरेन्सका दुई लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालाबीच चलेको द्वन्द्वको समयमा पनि कम्पनीको मूल्य पनि १ हजार माथिसम्म पुर्याइयो । त्यसलगत्तै टिवरेवाला समूह पनि बाहिरिएको खबर आयो ।अर्को उदाहरणको रुपमा शिवम सिमेन्टको सेयर मुल्यलाई पनि लिन सकिन्छ।