
किसान लघुवित्त (साविकको एनआरनएन) लघुवित्तले एक इदं पनि नबित्दै साधारणसभाको सूचना संशोधन गरेर हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको छ । कम्पनीले आइतबार सूचना प्रकाशित गर्दै १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव साधारणसभामा लैजाने उल्लेख गरेको थियो । तर सोमबार कम्पनीले संशोधित सूचना प्रकाशित गर्दै हकप्रद प्रस्ताव हटाएको छ ।
कम्पनीले हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेपछि आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात् १५७ रुपैयाँले बढेर प्रति कित्ता १७३१ रुपैयाँ पुगेको थियो । कम्पनीले हकप्रद प्रस्ताव हटाएसंगै हकप्रदको आशमा महँगो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता मारमा परेका छन् ।
कम्पनीले मूल्य बढाउँन कै लागि हकप्रद प्रस्ताव गरेको देखिन्छ । जबकी नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाएको छ । कम्पनीले साधारणसभाको सूचनामा चैत्र ६ मा बसेको संचालक समितिको निर्णय भनी उल्लेख गरेको छ । अर्थात् हकप्रद प्रस्ताव हटाउनु अघि संचालक समितिको बैठक बसेर थप निर्णय भएको देखिदैन । हकप्रदको नाममा यसरी चलखेल हुँदा यसको मारमा भने लगानीकर्ता परेका छन् ।
कम्पनीले चैत्र २९ गते कैलाली स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा संचालक समितिको भत्ता र सुविधा संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, नियामक निकायबाट नियमावली र प्रबन्धपत्रमा थप संशोधन गर्न निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, मर्जर सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने र हकप्रद निष्काशन सम्बन्धि विशेष प्रस्ताव पेश हुने छ ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छ ।
कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।