
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डमा नयाँ दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रालयले बोर्डको संगठन तथा ब्यबस्थापन सर्वेक्षण प्रतिवेदन अनुसारको नयाँ संगठन संरचना तथा दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको हो ।
मन्त्रालयले नयाँ १६ दरबन्दी को लागि स्वीकृति प्रदान गरेको हो । हाल बोर्डमा ७३ जनाको दरबन्दी रहेकोमा थपिएको १६ दरबन्दीपछि बोर्डमा अध्यक्ष सहित ८९ जनाको दरबन्दी रहने छ ।
बोर्डले बस्तु तथा विनिमय बजारको समेत नियमन गर्ने जिम्मेवारी पाएपछि सो को हाल कायम कर्मचारी अपुग हुने भएको भन्दै बोर्डले थप दरबन्दीको लागि स्वीकृति माग गरेको थियो । सोहि अनुसार मन्त्रालयले थप दरबन्दीको लागि स्वीकृति प्रदान गरेको हो ।
थपिएको दरबन्दीमा १ जना कार्यकारी निर्देशक, २ जना उप कार्यकारी निर्देशक, ५ जना निर्देशिक र बाँकि ८ जना सहायक तहका रहेको छ । बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् । हाल बोर्डमा नियमन तथा ब्यबस्थापन विभाग र सुपरिवेक्षण तथा अनुगमन विभाग रहेको छ । १ जना कार्यकारी निर्देशकको दरबन्दी थपिएसंगै बस्तु विमिमयको लागि छुट्टै विभाग गठन हुने देखिन्छ । कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले राजिनामा दिएसंगै हाल बोर्डमा निरज गिरी मात्र कार्यकारी निर्देशक छन् ।
त्यस्तै बोर्डमा उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा छन् । हाल ६ जना उपकार्यकारी निर्देशक रहेकोमा २ जना थपिएपछि उपकार्यकारी निर्देशकको संख्या ८ पुग्ने छ । त्यस्तै बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा रहने ब्यबस्था छ ।
बोर्डले वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापनाका लागि पूर्व स्वीकृति प्रदान गर्न नीतिगत एवं प्रकृयागत व्यवस्था तयार गर्नका लागि बोर्डका विज्ञ सदस्यको संयोजकत्व हुने गरी २०७७ माघमा एक समिति गठन गरी आवश्यक कार्य अगाडि बढाएको छ । सो समितिले प्रतिवेदन पेश गरे पश्चात वेयर हाउस संचालन नियमावली मस्यौदा तयार गरिने बोर्डले जनाएको छ ।