अजोड इन्स्योरेन्स Ajod Insurance Company को शेयर मूल्यमा भित्रि कारोबार अर्थात इन्साइडर ट्रेडिङको आशंका गरिएको छ । सोमबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्नु र मंगलबार हकप्रद प्रस्ताव सहितको एजेण्डा राखेर साधारणसभा आह्वान गर्नुले इनसाइड ट्रेडिङको आशंकामा बल पुगेको हो ।
कम्पनीले नेप्सेलाई सोमबार बेलुका नै पत्र पठाएर कम्पनीको २:३० मा बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तथा एजेण्डा तय गरेको उल्लेख गरेको छ । जसमा २:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि छ । तर कम्पनीको शेयर मूल्य सोमबार नै १० प्रतिशतले बढेको छ । सोमबार कम्पनीको शेयर मूल्य ७१६ बाट बढेर ७७६ रुपैयाँ पुगेको छ । सोमबार कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको हो ।
संचालक समितिको बैठक बस्नु अगाडी नै हकप्रदको सूचना बाहिरिएको आशंका लगानीकर्ताले गरेका छन् । कम्पनीको शेयर मूल्यमा इनसाइड ट्रेडिङ भएको भन्दै लगानीकर्ताहरु कम्पनीका संचालक समितिका सदस्य तथा प्रमुख करुकारी अधिकृतलाई कारवाहीको माग गर्दै उजुरी गर्न जाने तयारीमा छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सुतेको भन्दै केहि लगानीकर्ताले प्रहरीको सीआईबिमा उजुरी गर्ने तयारी गरेका छन् ।
के हो भित्रि कारोबार ?
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा भित्रि कारोबार समबन्धि ब्यबस्था छ । जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ ।
“भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।
यसरी भित्रि कारोबारमा संलग्न हुनेलाई १ वर्ष कैद वा ५ लाखसम्म जरिवाना वा दुवै हुन् सक्ने ब्यबस्था ऐनले गरेको छ ।
यस अघि : एशियन लाइफको शेयरमा इन्साइडर ट्रेडिङको आशंका, प्रमाणित भए के हुन्छ कारवाही ?