एचआईडिसीएलका ३० प्रतिशत संस्थापकले हकप्रद नलिने, पाउँला त निष्काशन अनुमति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 31, 2021 | 03:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले फेरी हकप्रद निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै बोर्डमा हकप्रद निष्काशनको लागि अनुमति माग गरेको थियो । तर बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेकोले आवेदन रद्द गरिदिएको हो  । त्यसपछि कम्पनीले फेरी आवेदन दिएको हो । 

यस अघि कम्पनीको संस्थापकहरुले हकप्रदमा लगानी गर्ने निर्णय गर्न नसक्दा लामो समयदेखि कम्पनीको हकप्रद निष्काशन हुन सकेको थिएन  । तर कम्पनीले फेरी हकप्रदको लागि आवेदन दिएकोले संस्थापक शेयरधनीले निर्णय गरेको हुन सक्ने लगानीकर्ताको अनुमान छ । तर बिजपाटीलाई प्राप्त जानकारी अनुसार हकप्रद लिनेबारे संस्थापकहरुले थप कुनै निर्णय गरेका छैनन्  । 

कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ ।

कम्पनीका अनुसार हालसम्म संस्थापक शेयरधनीहरुबाट ५ अर्ब ५० करोड प्राप्त भईसकेको छ । कम्पनीले अर्थ मन्त्रालयबाट २.२० अर्ब र उर्जा मन्त्रालय , कानुन मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयबाट समान १.१० अर्ब प्राप्त भईसकेको जनाएको छ । अन्य संस्थापक शेयरधनीलाई हकप्रद शेयर लिनको लागि आवश्यक निर्णय गरिदिनको लागि छलफल भईरहेको कम्पनीले जनाएको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिने निर्णय गरि सकेका छन् । यी ३ कम्पनीसँग एचआईडिसीएलको कुल ३० प्रतिशत शेयर छ ।

जसरी पनि हकप्रद शेयर जारी गर्ने कम्पनीको रणनीति 

शेयर जारी गर्ने घोषणा गरेको लामो समय भईसकेकोले अब जसरी पनि शेयर जारी गर्ने कम्पनीको तयारी छ । संस्थापक शेयरधनीले शेयर नहालेपनि सर्बसाधारणलाई शेयर जारी गर्ने निष्कर्षमा  कम्पनी पुगेको हो । कम्पनीका एक उच्च अधिकारीले बिजपाटीसँग भने '२ वर्षदेखि हकप्रद ल्याउने भनेर लगानीकर्तालाई झुक्याएको जस्तो भईरहेको छ, अब संस्थापकले शेयर नहालेपनि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए सर्बसाधारणलाई शेयर जारी गर्छौ।' 

विद्युत नियम आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्काशनमा कडाई गरेको छ । जलविद्युत कम्पनीले संस्थापकले रकम चुक्ता गरेपछि मात्र सर्बसाधारणलाई शेयर निष्काशन गर्न पाउने ब्यबस्था आयोगले गरेको छ । संस्थापकले हकप्रद वापत चुक्ता गर्नु पर्ने रकम नै चुक्ता नगरी सर्बसाधारणबाट हकप्रदको नाममा रकम उठाउदा बेथिति बढेको भन्दै आयोगले यस्तो ब्यबस्था गरेको हो । 

तर एचआईडिसीएलले आफुले हाइड्रो कम्पनीहरुमा लगानी गर्ने र आफु हाइड्रो कम्पनी नभई लगानी कम्पनी भएकोले सो ब्यबस्थाले फरक नपर्ने बताएको छ ।  

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा हकप्रद शेयर निष्काशनका लागि पूरा हुनु पर्ने अवस्थाबारे उल्लेख छ । निर्देशिकाको दफा १२ को उपदफा ४ मा भनिएको छ 'हकप्रद शेयर निष्काशनका लागि निवेदन दिएको सङ्गठित संस्थाको सञ्चालक लगायत आधारभूत शेयरधनीहरूले समेत आफूले लिनु पर्ने हकप्रद शेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका शेयरधनीका लागि हकप्रद शेयरको दरखास्त खुला गर्नु पर्नेछ ।'

तर सङ्गठित संस्थाका सञ्चालक वा आधारभूत शेयरधनीले आफूले लिनु पर्ने हकप्रद शेयर नलिएमा वा लिन नचाहेमा सो को जानकारी समावेश गरेर अन्य शेयरधनीका लागि हकप्रद शेयरको दरखास्त खुला गरिएको सूचना प्रकाशन गर्न सकिने ब्यबस्था दफामा उल्लेख छ । यहि दफाको आधारमा संस्थापकले शेयर नलिए पनि सर्बसाधारणलाई शेयर बिक्रिको लागि अनुमति पाउने कम्पनीको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved