रुरु हाइड्रो रिभ्यु: प्रिमियम मुल्यमा आईपिओ, पछिल्लो ३ बर्षदेखि निरन्तर फाइदामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 07:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दै छ । कम्पनीले  ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणलाई जारी गर्न लागेको हो। जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ  । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिरी गर्न लागेको हो । जसबाट कम्पनीले ८१ लाख ५४ हजार १ सय २० रुपैयाँ प्रिमियम संकलन गर्न सक्ने छ  

लगानीकर्ताले यस आईपिओमा छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिमा पर्य्पट आवेदन नपरेमा बैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडफाँड भईसकेको छ । 

कम्पनी परिचय 

रु रु जलविद्युत परियोजना लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६२÷१२÷०९ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई मिति २०७२÷०४÷०७ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो  । कम्पनीको  आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्रतथा अन्य भौतिक पूर्वाधारहरु गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका (साविकको डिबरुङ्ग गा.वि.स.,बिसुखर्क गा.वि.स., हर्राचौर गा.वि.स., शान्तिपुर गा.वि.स., ग्वाघा गा.वि.स., हर्रेवा गा.वि.स., रुपाकोट गा.वि.स. र तुरान गा.वि.स.) छत्रकोट गाऊँपालिकाको वडा नं. २ (साबिकको पल्लिकोट गा.वि.स.), गुल्मी दरबार गाउँपालिकाको वडा नं २ (साविकको बिरबास गा.वि.स.) र गुल्मी दरबार गाउँपालिकाको वडा नं. ४ (साविकको जुगुम गा.वि.स.) मा रहेको छ ।

कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाँउपालिकामा ५ मेगावाट क्षमताको परियोजाना रु रु जलविद्युत परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले मिति २०७१÷१२÷०९ बाट व्यसायिक उत्पादन शुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ  । कम्पनीको कुल लागत रु. ७४,४५,२१,९१० रहेको र प्रति मेगावाट रु. १४,८९,०४,३८२ रहेको छ ।

वर्षायाममा खोलामा पानीको मात्रा बढी भई हाल आयोजनाले प्रतिदिन औषत ४.३६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति बहाल रहने मिति २०६९÷०४÷३० देखि २१०४÷०४÷२९ सम्म रहेको छ ।

आयोजनाले आ. व. २०७७÷७८ को आश्विन मसान्तसम्ममा कुल रु. ५,१२,४८,४७६÷९६ रकम बराबरको विद्युत उत्पादन गरी  प्राधिकरणलाई बिक्रि गरेको अवस्था छ जुन गत आ. व. को तुलनामा रु ४,६६,६२९.६३ ले बढि हो ।

विद्युत खरिद बिक्रि दर 

प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरीद वापत वर्षायाममा प्रति कि.वा. घण्टा रु. ४÷– (चार रुपैंया मात्र) र सुख्खायाममा प्रति कि.वा. घण्टा रु. ७÷– (सात रुपैंया मात्र) विद्युत खरीद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तिय संस्थालाई बुझाउने छ । साथै व्यापारिक उत्पादन शुरु हुने मितिलाई आधार वर्ष मानी त्यसपछिको प्रत्येक आर्थिक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले नौ (९) पटकसम्म मूल्यवृद्घि दिई निम्न तालिका अनुसार विद्युत उर्जा खरीद दर कायम गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले अतिरिक्त उर्जा  (Excess Energy को हकमा मिति २०७१÷०७÷१३ मा भएको विद्युत खरीद बिक्री सम्झौता (संशोधित) को दफा १२.१ मा उल्लेख भए अनुसार माथि दोश्रो तालिकामा उल्लेखित संशोधित विद्युत खरीद दरको ५०% दरमा कम्पनीले बिलिङ्ग गर्ने र प्राधिकरणले भुक्तानी गर्नेछ ।

पुँजी विवरण 

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय रहेको छ । कम्पनीको चुक्ता पूँजी बत्तीस करोड एकसठ्ठी लाख चौसठ्ठी हजार चार सय रुपैंया रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई शेयर बाँडफाँड गरे पश्चात हाल कम्पनीको चुक्ता पूँजी छत्तीस करोड उनन्सत्तरी लाख चौंतिस हजार नौ सय पुगेको छ ।  सर्बसाधारणलाई ४,०७,७०६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको चुक्ता रकम चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय हुनेछ । सर्बसाधारणलाई आईपिओ निष्काशन पश्चात कम्पनीमा संस्थापकको शेयर स्वामित्व ८० प्रतिशत, स्थानीयको १० प्रतिशत र सर्बसाधारणको १० प्रतिशत रहने छ ।

संस्थापक÷सञ्चालक सम्बन्धी जानकारी 

कम्पनीको आधारभूत शेयरधनीमा  भरत प्रसाद नेपाल, पुर्वान्चल इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि, सावित्री अधिकारी,तारा प्रसाद संजेल,हरी प्रसाद निरौला, डम्बर ब. देउजा, आदर्श नागरीक इनभेष्टमेन्ट कम्पनी प्रा.ली, बडा.संदिप शाह, एकराज पाण्डे र निरा अर्याल रहेका छन् । कम्पनीको संचालकहरुमा आशिष सुवेदी, भरत प्रसाद नेपाल, , मिन राज कडेंल, गम प्रसाद रेश्मी र चन्द्र बहादुर पुन रहेका छन्  । कम्पनीकोअध्यक्षको रुपमा आशिष सुवेदी रहेका छन्।

सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले पाउने प्रति वैठक भत्ता ६,००० र अन्य सञ्चालकले प्रति वैठक भत्ता ५,५०० पाउने ब्यबस्था छ  । कम्पनीको कामको सिलसिलामा अध्यक्ष लगायत सञ्चालकहरुले वास्तविक बिल अनुसार भ्रमण खर्च र कम्पनीको वा व्यक्तिगत सवारी साधन प्रयोग गरेको अवस्थामा चलनचल्ती गाडी भाडा र इन्धन खर्च प्रदान गर्ने गरेको छ ।

कम्पनीको मिति २०७६÷०५÷३० मा सम्पन्न भएको चौंधौं वार्षिक साधारण सभाबाट सञ्चालकहरुको सेवा सुविधाका सम्बन्धमा कम्पनीको स्थापनाकालदेखि योगदान गर्दै आएका अध्यक्षलाई ३१ हजार र अन्य संचालकहरुलाई ३० हजार प्रदान गरेको छ ।

ब्यबस्थापन विवरण 

कम्पनीको ब्यबस्थापन प्रमुखमा  बलदेव बलामी रहेका छन् भने गोबिन्द चालिसे टेक्निकल सल्लाहकार र विष्णु प्रसाद पाण्डे उपकरण प्रबन्धक रहेका छन्। कम्पनीमा कुल २७ कर्मचारी छन् ।  

ब्यबस्थापन प्रमुख  बलदेव बलामीले एक आर्थिक वर्षमा ५ लाख ४८ हजार १ सय ७० रुपैयाँ पारिश्रमिक लिएका छन् भने चालिसे र पाण्डेले क्रमश ५ लाख ५२ हजार र १४ लाख २९ हजार ७ सय ७९ पारिश्रमिक लिएका छन् ।

बीमा विवरण 

कम्पनीले कम्पनी तथा आयोजनाकोआवश्यक संरचना, मेसिन, औजार तथा उपकरणहरुको प्रुडेन्सियल इन्स्योरेन्समा बीमा गरेको छ  । कम्पनीले सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, बिरवास सवस्टेशन, कार्यालयको क्वाटरमा रहेको हेडवोर्क (सिभिल वोर्क), स्थिर सम्पत्ति (कार्यालयको उपकरणहरु) को गरि कुल ६८ करोड ९० लाखको बीमा गरेको छ । सम्पूर्ण सम्पत्तिहरुको कूल प्रिमियम रकम १४ लाख ४० हजार रहेको छ । कम्पनीलेLoss of Profit बाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न ७ करोड रकम बराबरको बीमा गरेको छ र सो को प्रिमियम रकम १ लाख १८ हजार ६ सय ७२  भुक्तानी गरेको छ।

वित्तीय विवरण 

लेखापरीक्षण सम्पन्न भएको विवरणको आधारमा कम्पनीले आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा विद्युत बिक्रिबाट क्रमसः १२ करोड २१ लाख, १२ करोड ३५ लाख र १४ करोड ६६ लाख आम्दानी गरेको थियो । यी आर्थिक वर्षमा कम्पनीले क्रमश ३ करोड ४१ लाख, ३ करोड ५६ लाख र ५ करोड ८३ लाख खुद नाफा कमाएको छ ।

अपरिस्कृत विवरणको आधारमा कम्पनीले आर्थिक वर्ष ७७/७८ को पुस महिनासम्ममा ९ करोड २५ लाख विद्युत बिक्रिबाट आम्दानी गरेको छ भने यस अवधिको खुद नाफा ५ करोड ४९ लाख रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा विद्युत बिक्रिबाट क्रमश १३ करोड ३५ लाख, १२ करोड ९१ लाख र ११ करोड ९९ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ  । यी आर्थिक वर्षहरुमा  कम्पनीले आफ्नो खुद नाफा क्रमश ५ करोड ८५ लाख, ६ करोड ३४ लाख र ५ करोड ७१ लाख हुने प्रक्षेपण गरेको छ । 

कम्पनीलाई आर्थिक वर्ष २०८१ चैत्र मसान्तसम्म कर्पोरेट आयकर छुट रहेको छ र सो पश्चात आर्थिक वर्ष २०८१ चैत्र मसान्त पश्चात १२.५ प्रतिशतको दरले आयकर लाग्ने र आर्थिक वर्ष २०८६ चैत्र मसान्त पश्चात २५ प्रतिशतको दरले आयकर लाग्ने छ ।

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको प्रति शेयर वास्तविक नेटवर्थ क्रमश ११०.०१, ११०.९४ र ११८.८४ रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले प्रति शेयर नेटवर्थ  क्रमश १२०.९०, १२६.४७ र १३०.४७ हुने प्रक्षेपण गरेको छ । 

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको प्रति शेयर आम्दानी ( वास्तविक)  क्रमश १०.४६, १०.९३ र १७.९० रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले  प्रति शेयर आम्दानी  क्रमश १४.३६, १५.५७ र १४.०१ हुने प्रक्षेपण गरेको छ । प्रक्षेपित वित्तीय विवरणहरु एस.आर.पाण्डे एण्ड कम्पनीका चार्टर्ड एकाउण्टेन्ट सुदर्शन राज पाण्डेले प्रमाणित गरेका छन् ।

आईपिओबाट उठेको रकमको उपयोग 

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणको लागि निष्काशन गरी प्राप्त रकम कर्जा भुक्तानीका लागि प्रयोग गर्ने उल्लेख गरेको छ। 

प्रत्याभूति विवरण 

आईपिओ बिक्रि नभएमा कम्पनीले एनआईबिएल एस क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको छ । अर्थात् बिक्रि नभएको शेयर क्यापिटलले खरिद गर्ने छ । प्रत्याभूति सेवा वापत क्यापिटलले ८ लाख ९६ हजार ९ सय ५२ रुपैयाँ पाउने छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले भने सो सेवा वापत ३ लाख पाउने छ।

प्रिमियम मूल्यको औचित्य 

 संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा संचालनमा रही शेयरधनीहरुलाई बोनस शेयरको रुपमा मुनाफाको वितरण गरिरहेको र  संगठित संस्थाको प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएकोले प्रिमियममा शेयर जारि गर्न लागिएको कम्पनीले जनाएको छ ।

१२० नै किन ?

 कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्य रु.२३७.६८ भएको हुँदा उपरोक्त गणनाका आधारमध्ये पहिलो औषत तरिकाबाट प्राप्त औषत प्रिमियम मूल्य कम हुन आएकोले प्रति शेयर अंकित मूल्य रु.१००÷– मा प्रिमियम मूल्य रु. २० थप गरी प्रति शेयर रु. १२०÷– मा प्रिमियममा सार्वजनिक निष्काशन गर्न सकिने सिफारिश भै आएकोमा यस कम्पनीको संचालक समितिको मिति २०७६÷०८÷०२ मा बसेको वैठकबाट अंकित मूल्य रु. १००÷– मा प्रिमियम मूल्य रु. २०÷– थप गरी प्रति शेयर रु. १२०÷– मा सर्वसाधारणहरुलाई सार्वजनिक निष्काशन गर्ने गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको । 

रेटिंग विवरण 

कम्पनीलाई  ICRA Nepal Limited ले मिति २०७७÷०४÷१५ मा समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउने ICRA NP Issuer Rating Tripple B रेटिंग प्रदान गरेको छ ।

कर्जा विवरण 

रु रु जलविद्युत परियोजना लिमिटेडकालागि संस्थापक शेयरधनीहरुकोस्वः लगानी तथा लिड बैंकको रुपमा एनएमबि बैंक लिमिटेड (साविकको क्लिन इनर्जी डेभलपमेन्ट बैंक लिमिटेड) र सहभागी बैंकहरुमा कुमारी बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (साविक भिवोर विकास बैंक लिमिटेड) माछापुच्छ्रे बैंक लिमिटेड र सेन्ञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट सहवित्तीयकरण ऋण व्यवस्थापन सम्झौता गरिएको छ । उक्त कर्जाको कुल स्वीकृत सीमा रु. ४८ करोड २४ लाख भएकोमा २०७७ आश्विन मसान्तमा बाँकी कर्जा रु. २७ करोड ८६ लाख ५० हजार रहेको छ । कम्पनीले आश्विन मसान्त २०७७ सम्म २० करोड ३७ लाख ५० हजार कर्जा भुक्तान गरेको छ भने अब २७ करोड ८६ लाख ५० हजार तिर्न बाँकि रहेको छ ।

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved