
सिडीएससीले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार गर्नको आह्वान गरेको ठेक्का प्रक्रिया रद्द गरेको छ । सिडीएसले हिजो बिहिबार ठेक्का आह्वान गरेकोमा आज शुक्रबार ठेक्का रद्द गरेको हो। सिडीएसले उक्त सूचनामा भूलवश केहि प्रक्रियागत त्रुटी हुन गएको भन्दै अर्को सूचना प्रकाशन नभएसम्मको लागि प्रक्रिया रद्द गरेको जनाएको छ ।
सीकेवाईसी विकास गरि जडान गर्नको लागि आज चैत्र १९ मा शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । सिडीएसले इच्छुक तथा योग्य कम्पनीलाई अप्रिल ३० तारिख १ बजेसम्ममा २ लाख धरौटी राखेर शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार सीकेवाईसी तयार गरिन लागेको हो। यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।
यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् । त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।
सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ ।