अजोड इन्स्योरेन्सको 'भित्रि कारोबार' छानविन गर्न धितोपत्र बोर्डले बनायो कमिटि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 05:24:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स Ajod Insurance Company को शेयरमा भएको भनिएको भित्रि कारोबार अर्थात इन्साइडर ट्रेडिङको छानविन गर्नको लागि नेपाल धितोपत्र बोर्डले कमिटि गठन गरेको छ ।बोर्डले आज सोमबार कमिटि गठन गरेको हो ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले कमिटि गठन भएको र यसबारे आज नै प्रेस विज्ञप्ति मार्फत विस्तृत जानकारी दिने तयारी गरिएको बिजपाटीलाई बताए  । मंगलबार नै यस विषयमा नेप्सेसँग सोधपुछ गरिएकोमा नेप्सेले शेयर कारोबारको विवरण मात्र पठाएकोले थप अध्ययन गर्न आवश्यक देखिएकोले कमिटि बनाईएको उनले बताए ।

कम्पनीको शेयरमा इन्साइडर ट्रेडिङ भएको भन्दै लगानीकर्ताको तर्फबाट केशव कोइरालाले बोर्डमा उजुरी दिएका थिए । 

 भएको के हो ? 

गत सोमबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्नु र मंगलबार हकप्रद प्रस्ताव सहितको एजेण्डा राखेर साधारणसभा आह्वान गर्नुले  इनसाइड ट्रेडिङको आशंका गरिएको हो। कम्पनीले नेप्सेलाई सोमबार बेलुका नै पत्र पठाएर कम्पनीको २:३० मा बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तथा एजेण्डा तय गरेको उल्लेख गरेको छ । जसमा २:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि छ । तर कम्पनीको शेयर मूल्य सोमबार नै १० प्रतिशतले बढेको छ । सोमबार कम्पनीको शेयर मूल्य ७१६ बाट बढेर ७७६ रुपैयाँ पुगेको थियो । सोमबार कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको थियो  ।

संचालक समितिको बैठक बस्नु अगाडी नै हकप्रदको सूचना बाहिरिएको आशंका लगानीकर्ताले गरेका छन् ।  

के हो भित्रि कारोबार ?

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा भित्रि कारोबार समबन्धि ब्यबस्था छ  ।  जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ ।

“भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

यसरी भित्रि कारोबारमा संलग्न हुनेलाई १ वर्ष कैद वा ५ लाखसम्म जरिवाना वा दुवै हुन् सक्ने ब्यबस्था ऐनले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved