
सिडीएस एण्ड क्लियारिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद ढुंगानाले आफुहरुले दोषको भारी बिसाउन चाहेको बताएका छन् । मंगलबार मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालले आयोजना गरेको पुँजीबजारमा आर्थिक पत्रकारको क्षमता अभिबृद्धि कार्यक्रममा सीइओ ढुंगानाले मेरोशेयरको कारण आफुहरुले दोषको भारी बोकेकोले त्यसलाई छिट्टै बिसाउन चाहेको बताएका हुन् ।
मेरोशेयरमा समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई समाधान गर्न अधिकतम प्रयास भईरहेको बताए । १ वर्षको अवधिमा मेरोशेयरको प्रयोगकर्ताको संख्या ७ लाखबाट २३ लाख पुगेको र डिम्याट खाता खोल्नेको संख्या १७ लाखबाट ३३ लाख पुगेको बताउदै उनले बढ्दो प्रयोगकर्तालाई धान्ने सर्भर जडानको काम भईरहेको बताए ।
आईपिओको निष्काशन भईरहेको बेलामा लोड ब्यबस्थापन गर्न २ वटा सर्भर थप गरिएको र सो कार्य गर्नु अघि समय अभावको कारण टेस्ट गर्न नसकिएकोले समस्या आएको उनको भनाई थियो । उनले भने 'सर्भर तत्काल अपग्रेड गर्नु पर्ने थियो, टेस्ट समेत गर्न पाईएन, टेस्ट नगरी रिसोर्स म्यानेज गरेका छौ, सोहि कारण केहि समस्या देखिएको छ' ।
मेरो शेयर अपग्रेड कै क्रममा रहेकोले समस्या देखिने गरेको तर मेरोशेयर बाहेकका कारणले देखिएको समस्याको दोष पनि आफुहरुले बोक्नु परेको उनको भनाई थियो। उनले भने 'इन्टरनेट कमजोर हुँदा पनि मेरोशेयरलाई नै दोष आउंछ, हामीले दोषको भारी बोकेर बसेका छौ, यसलाई छिट्टै विसाउने कोशिश गर्छौ' ।
उनले मेरोशेयरमा देखिएको समस्याहरु छिट्टै समाधान हुने र सिडीएसले प्रयोग गरिरहेको सिडिएस र सिसिएसलाई पनि अपग्रेड गरिने उनले बताए ।