कमोडिटी लाईसेन्सको लागि फेरि आवेदन खुलाउने धितोपत्र बोर्डको तयारी, प्रतिवेदन संचालक समितिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 04:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमोडिटी बजार संचालनको लागि फेरि आवेदन खुलाउने तयारी गरेको छ । यस अघि २ पटकसम्म आवेदन माग गरेर लाईसेन्स नदिएको बोर्डले तेस्रो पटक आवेदन खुलाउने तयारी गरेको हो । 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लाइसेन्सको बारेमा अध्ययन गर्न गठित अध्ययन समितिले प्रतिवेदन बुझाएको बताए । उक्त प्रतिवेदन बोर्डको संचालक समितिमा पेश भई छलफलको क्रममा रहेकोले संचालक समितिले निर्णय गरेपछि नयाँ आवेदन खुलाउने उनले बताए  । कति वटालाई लाईसेन्स दिने गरि आवेदन दिने भन्ने विषयमा संचालक समितिले निर्णय गर्ने उनको भनाई छ । यद्यपि नयाँ आवेदन खुलाउने भने निश्चित रहेको उनले बताए  । उनले भने 'यस अघि आएका आवेदनको म्याद नाघी सक्यो, अब नयाँ लाइसेन्स खुलाउनुको विकल्प छैन, छिट्टै लाइसेन्स खुलाउछौ'  । यस पटक आएको आवेदनबाट लाईसेन्स प्रदान गरिने उनले बताए  । 

कानुन बनेको ४ वर्ष हुन लाग्दा समेत बोर्डले लाईसेन्स दिन सकेको छैन । यस अवधिमा कमोडिटीलाई नियमन गर्न जिम्मा पाएको धितोपत्र बोर्डले संचालनमा रहेका एक्सचेन्जलाई अवैध घोषणा भने गरेको छ। अवैध घोषणा भएपनि उनीहरुले बजार भने निर्वाध संचालन गरिरहेका छन् । नियमन नै नहुने भएपछि उनीहरु सहज रुपमा बजार संचालन गरिरहेका छन् ।  

बोर्डले पहिलो पटक आवेदन गर्दा आएका सबै आवेदनलाई अयोग्य भन्दै फेरी दोस्रो पटक आवेदन माग गरेको थियो ।  बोर्डले त्यस समय  उत्कृष्टताका आधारमा २ वटालाई मात्र अनुमति दिइने सूचना मै उल्लेख गरेको थियो । त्यस संगै बजार संचालनको लागि ६ वटा कम्पनीले आवेदन दिएका थिए । लाईसेन्सको लागि नेपाल डेरीभेटिभ एक्सचेन्ज, नेपाल मर्केन्टाईल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज, मल्टि डेरीभेटिभ एक्सचेन्ज, राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, र नेशनल कमोडिटी डेरिभेटिभ एक्सचेन्जले आवेदन दिएका थिए । तर अब बोर्डले ति कम्पनीलाई पनि लाईसेन्स नदिएर नयाँ आवेदन खुलाउन लागेको हो।  

पहिलो पटक बोर्डले आवेदन माग्दा ५ कम्पनीले आवेदन दिएका थिए ।  कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) लिमिटेड, नेपाल कमोडिटी (एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटी (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) गरी पाँचओटा कम्पनीले अनुमतिका लागि आवेदन दिएका थिए । यी सबैले पुन दोस्रो पटक पनि आवेदन दिएका थिए। तेस्रो पटक आवेदन आह्वान हुदा पनि यिनै कम्पनीले आवेदन दिने देखिन्छ । 

यता बोर्डले कमोडिटीको पनि नियम गर्नु पर्ने भएको र त्यसको लागि थप जनशक्ति आवश्यक पर्ने भएको भन्दै अर्थ मन्त्रालयबाट नयाँ कर्मचारीको दरबन्दी स्वीकृत गराईसकेको छ ।  मन्त्रालयले नयाँ १६ दरबन्दीको लागि स्वीकृति प्रदान गरेको हो । हाल बोर्डमा ७३ जनाको दरबन्दी रहेकोमा थपिएको १६ दरबन्दीपछि बोर्डमा अध्यक्ष सहित ८९ जनाको दरबन्दी रहने छ । 

बोर्डले बस्तु तथा विनिमय बजारको समेत नियमन गर्ने जिम्मेवारी पाएपछि सो को हाल कायम कर्मचारी अपुग हुने भएको भन्दै बोर्डले थप दरबन्दीको लागि स्वीकृति माग गरेको थियो । सोहि अनुसार मन्त्रालयले थप दरबन्दीको लागि स्वीकृति प्रदान गरेको हो । 

थपिएको दरबन्दीमा  १ जना कार्यकारी निर्देशक, २ जना उप कार्यकारी निर्देशक, ५ जना निर्देशिक र बाँकि ८ जना सहायक तहका रहेको छ । बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् । हाल बोर्डमा नियमन तथा ब्यबस्थापन विभाग र सुपरिवेक्षण तथा अनुगमन विभाग रहेको छ । १ जना कार्यकारी निर्देशकको दरबन्दी थपिएसंगै बस्तु विमिमयको लागि छुट्टै विभाग गठन हुने देखिन्छ । कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले राजिनामा दिएसंगै हाल बोर्डमा निरज गिरी मात्र कार्यकारी निर्देशक छन् । 

त्यस्तै बोर्डमा उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा छन् ।  हाल ६ जना उपकार्यकारी निर्देशक रहेकोमा २ जना थपिएपछि उपकार्यकारी निर्देशकको संख्या ८ पुग्ने छ ।  त्यस्तै बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved