
२०७७ साल पुंजीबजारको लागि सुखद बनेको छ । यो वर्ष नेप्से सूचक १४६३.३४ अंकले बढेको छ । २०७६ सालको कारोबारको अन्तिम दिन नेप्से सूचक १२५१.४५ रहेकोमा ७७ सालको अन्तिम दिनमा नेप्से सूचक २७१४.७९ को बिन्दुमा पुगेको छ ।
७७ सालको अन्तिम दिन आज मंगलबार नेप्से सूचक २३.२३ अंकले बढेको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसर्थ २०७७ सालमा नेप्से हाल सम्म कै उच्च बिन्दुमा पुगेको छ ।
त्यस्तै बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भएको छ । २०७६ सालको कारोबारको अन्तिम दिन बजार पुँजीकरण १६ खर्ब रहेकोमा ७७ सालको अन्तिम दिन बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ लाख कायम भएको छ ।
यहि वर्ष नेप्सेले सर्बाधिक कारोबार रकम, सर्वाधिक कारोबार कित्ता, सर्वाधिक आईपिओ निष्काशन कम्पनी, आईपिओ निष्काशन रकम, आईपिओमा आवेदन दिने आवेदक, दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता लगायतमा नयाँ रेकर्ड कायम गरेको छ । यसै वर्ष डिम्याट खाता खोल्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ भने यसै वर्ष पुँजीबजारमा स्टक डिलरको प्रवेश भएको छ ।