२०७७ सालभर विभिन्न १९ वटा कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरेका छन् । यी कम्पनीहरुले कुल १३ करोड १९ लाख ९१ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेका हुन् । जुन १३ अर्ब २० करोड ७३ लाख ४५ हजार १ सय २० रुपैयाँ बराबर हो । कुनै एक वर्षमा निष्काशन यति धेरै रकमको आईपीओ निष्काशन भएको यो नै पहिलो पटक हो ।
७७ सालमा हाल सम्म कै ठूलो आईपिओ पनि निष्काशन भयो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको ८० करोड कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै ७७ सालमा रुरु हाइड्रोले प्रिमियममा आईपिओ निष्काशन गर्यो । कम्पनीले सर्वसाधारणको लागि ४ लाख ७ हजार ७ सय ६ कित्ता शेयर प्रिमियममा निष्काशन गरेको हो । कम्पनी अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँमा आईपिओ निष्काशन गरेको हो ।
७७ सालको पहिलो आईपिओ एनआईसी एसिया लघुवित्तले निष्काशन गरेको थियो । कम्पनीले ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार बराबरको आईपिओ निष्काशन गरेको हो । लघुवित्त कम्पनीले हालसम्म निष्काशन गरेको मध्ये यो नै ठूलो आईपिओ हो ।
७७ सालको सुरुवातदेखि आईपिओ निष्काशन गर्नेमा क्रमश, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्त, अजोड इन्स्योरेन्स, एनआएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, रिलायन्स लाईफ इन्स्योरेन्स, समाज लघुवित्त, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स , युनाईटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रकचर बैंक , चन्द्रागिरी हिल्स, ग्रिनलाइफ हाइड्रो, महिला लघुवित्त , ज्योति लाइफ इन्स्योरेन्स, सिंगटी हाइड्रो र रुरु जलविद्युत परियोजना कम्पनी रहेका छन् ।
माथि उल्लेखित तथ्यांकमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन भएको आईपिओ समावेश भएको छैन । ७७ सालमा ६ वटा कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेका थिए । लिबर्टी इनर्जी, माउन्टेन इनर्जी, युनाईटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावर, चन्द्रागिरी हिल्स, सिंगटी हाइड्रो र रुरु जलविद्युत परियोजना कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेका थिए ।