आइतबार शेयर बजार परिसूचक नेप्से ७५.७९ अंकले घट्दा ८ कम्पनीको शेयर मूल्य भने बढ्यो । धेरै कमाउने कम्पनीको सुचीको पहिलो नम्बरमा कुमारी बैंकको संस्थापक शेयर रहेको छ ।
कम्पनीको शेयर १०० बाट १४ प्रतिशतले बढेर ११४ रुपैयाँ पुगेको छ । सामान्यता कम्पनीको शेयर मूल्य १० प्रतिशतमात्र घटबढ हुन पाउने भएपनि कुमारी बैंकको संस्थापक शेयर मूल्य १४ प्रतिशतले बढेपछि कसरी यस्तो भयो भन्नेबारे लगानीकर्ताको चासो बढेको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुली २ कारणले यस्तो हुने बताउछन् । यदि कुनै कम्पनीको शेयर १५ दिनसम्म कारोबार भएको छैन भने त्यसपछि हुने कारोबारको लागि मूल्य सीमा परिवर्तन गर्न सकिने ब्यबस्था रहेको उनले बताए । धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ ले यस बारे ब्यबस्था गरेको छ । विनियमावलीको दफा १२ मा मूल्य परिवर्तन सीमा समबन्धि ब्यबस्था छ । जसको दफा १२ को ४ मा 'कुनै धितोपत्रको कारोवार लगातार पन्ध्र दिनसम्म नभएमा त्यस पछि हुने पहिलो कारोबारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुल्ला गर्न सक्नेछ । ' ब्यबस्था गरेको छ । त्यस्तै नियमावलीले भने त्यसको अवधिलाई २ महिना कायम गरेको छ । विनियमावली र नियमावलीको ब्यबस्था बाझिए विनियमावलीको ब्यबस्था लागु हुने प्रवक्ता पराजुलीको भनाई छ ।
त्यस्तै लिलाम वा अन्य कुनै माध्यमबाट मूल्य तय भई हुने कारोबारमा पनि १० प्रतिशतको सीमा नलाग्ने प्रवक्ता पराजुलीले बताए ।
आज कुमारी बैंकको संस्थापक शेयरको २ वटा कारोबार भएको छ । दुवै कारोबार ११४ रुपैयामा भएको छ भने दुवै कारोबारमा समान २ हजार ५ सय कित्ता कारोबार भएको छ । यसरी कुल ४५ हजार कित्ता शेयर कारोबार भएको हो । यी सबै शेयर ४९ नम्बरबाट बिक्रि भई ५७ ब्रोकरबाट खरिद भएको हो ।